मंगलबार, ०५ असोज २०७८

कांग्रेसले क्रियाशील सदस्यताको छानविन असार मसान्तभित्र टुङगाउदै , ४० प्रतिसत यूवाले सदस्यता पाउने

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले असार मसान्तभित्र सम्पूर्ण काम सम्पन्न गर्ने गरी कामलाई तीब्रता दिइएको बताएको छ । कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै क्रियाशील सदस्यता छानविन समितिलाई समय मै काम सम्पन्न गर्न दबाब बढेको हो। 


देशैभरिका स्थानीय पालिकाको वडा वडाबाट सिफारिस हुने क्रियाशील सदस्यमा उजुरी परेपछि छानविन समितिलाई टुंगो लगाउन समस्या परेको थियो । पुराना सदस्यहरुको क्रियाशील सदस्यको नविकरणमा समस्या नभएपनि नयाँ सदस्य र विभिन्न पार्टीहरु एकीकरण भई समायोजनमा आएकाहरुमा विवाद देखिएको छ ।  

क्रियाशील सदस्यको सूचि प्रमाणित गरेर वडा, गाउँपालिका नगरपालिका प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला कार्यसमिति हुँदै केन्द्रमा आउनुपर्ने व्यवस्था छ । छानविन समितिका सदस्य एंव केन्द्रीय सदस्य श्याम प्रसाद घिमिरेले प्राप्त विवरणहरुलाई हेर्दा धेरै ठूलो समस्या नरहेको र तोकिएको समायमा छानविन गरि विवरण सभापतिलाई बुझाउन सकिने बताउनु भयो ।  


प्राविधिक कामको चापलाई घटाउने काम गर्दै काम भईरहेको भन्दै उहाँले समितिमा प्राप्त भएको विवरणमा परेको उजुरीलाई पनि समयमै छानविन गरि टुंगो लगाउने बताउनु भयो । नेपाली कांग्रेसको क्रियाशील सदस्य करिब ९ लाख पुग्ने अनुमान गरिएको छ । प्राप्त विवरणमा ३० देखि ४० वर्षको उमेर समूहका सबै भन्दा बढी ४० प्रतिशत रहेको पाईएको छ । देशभरबाट आठ लाख २० हजार क्रियाशील सदस्यको नाम सार्वजनिक गरिएकोमा क्रियाशील सदस्यता छानविन समितिमा पाँच हजार भन्दा बढी उजुरी परेका छन् ।


छानविन समितिका एक सदस्य अनुसार ३० वटा जिल्लाको क्रियाशील सदस्यता टुंग्याउने काम सकिएको छ । सदस्यता टुंगो लागेका जिल्लाको सदस्यता छपाईको काम पनि भइरहेको छ । क्रियाशील सदस्यता टुंगो लागेका जिल्लामा प्रदेश एकबाट ताप्लेजुङ, झापा, पाँचथर, तेह्रथुम, खोटाङ, ओखलढुंगा, संखुवासभा, धनकुटा, उदयपुर, इलाम रहेका छन् । प्रदेश दुईका कुनै पनि जिल्लामा सदस्यता टुंगो लाग्न सकेको छैन । क्रियाशील सदस्यतालाई लिएर सबैभन्दा बढि विवाद प्रदेश २ मा छ ।


बागमती प्रदेशका रामेछाप, दोलखा, सिन्धुली र भक्तपुरको क्रियाशील सदस्यताको काम टुंगो लागिसकेको छ भने गण्डकी प्रदेशका गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, कास्की र तनहुँको विवाद पनि समाधान भएको छ ।
धेरै विवादित प्रदेशमध्येको एक लुम्बिनीमा पाल्पा जिल्लाको मात्रै क्रियाशील सदस्यताको काम टुंगिएको छ भने कर्णालीका जुम्ला, मुगु, हुम्ला, कालीकोट र जाजरकोट जिल्लाको सदस्यताको काम पनि सकिएको छानविन समितिका एक सदस्यले बताए । सुदूरपश्चिम प्रदेशमा बझाङ, डोटी र दार्चुला जिल्लाको क्रियाशील सदस्यताको काम सकिएकोछ ।


समितिका अनुसार ७७ जिल्लामध्ये तीन जिल्लाबाट भने कुनै पनि उजुरी परेको छैन । विवादरहीत जिल्लामा मनाङ, मुस्ताङ र ताप्लेजुङ रहेको छानविन समितिले जनाएको छ । बढी विवादित जिल्लामा प्रदेश २ का आठवटै जिल्लासहित बर्दिया, सोलुखुम्बु, सिन्धुपाल्चोक, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, रसुवा, धादिङ, नुवाकोट, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँकेलगायत रहेका छन् । कांग्रेस पदाधिकारी बैठकले छानविन समितिले सहमति गर्न नसकेका क्रियाशील सदस्यता विवाद शीर्ष नेताहरुबाटै टुंग्याउने गरी मापदण्ड बनाएको थियो । कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गते सम्म काठमाडौंमा आयोजना गरिएको छ । 

प्रतिक्रिया दिनुहोस