बुधबार, ०८ चैत्र २०७९

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजदेखि निरन्तर सुनुवाइ , ओली अप्ठारोमा

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजदेखि निरन्तर सुनुवाइ हुँदैछ । यसअघि गएको जेठ २६ गते बसेको संवैधानिक इजलासले बुधबार देखि निरन्तर सुनुवाइ हुने आदेश दिएको थियो । 

‘फास्ट ट्रयाक’मा हुन लागेको सुनुवाइका लागि निवेदक र विपक्षीले बिहिबार सम्म इजलासमा बहस नोट बुझाइसक्नुपर्नेछ । बहसका लागि दुवै पक्षलाई १५÷१५ घण्टा समय छुट्याइएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।

गएको जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्चमा ३० वटा रिट परेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवासहित एक सय ४६ सांसदले दायर गरेको रिटमाथि मात्रै सुनुवाइ भएको हो ।

सर्वोच्च अदालतले सरकारका निर्णय एकपछि अर्को उल्ट्याउन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली अप्ठ्यारोमा पर्नुभएको छ । दोस्रो पटकको प्रतिनिधिसभा विघटन यता सरकारले गरेका महत्वपूर्ण निर्णयलाई सर्वोच्चले प्रश्न उठाउँदै अन्तरिम आदेशमार्फत रोकिदिएपछि प्रधानमन्त्री अप्ठ्यारोमा पर्नुभएको हो ।  सर्वोच्चका पछिल्ला यी आदेशले ओलीको आफूखुशी निर्णयमा अंकुश लाग्दै गएको र राष्ट्रिय राजनीतिमा उहाँको शक्ति कमजोर बन्दै गएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस