मंगलबार, ०५ असोज २०७८

टिफिनमा माया बाड्दै फ्रण्टलाइनरका सारथीहरु

रुपन्देही २५ जेठ । बुटवलको देबिनगरका संजय पाण्डे पेशाले इन्जिनियर हुन । तर उनी अहिले आफ्नो पेशागत कर्मभन्दा पनि मानवीय सेवामा समर्पित छन् । कोभिडको दोश्रो भेरियण्टले बुटवल र आसपासको क्षेत्रमा महामारीको रुप लिएपछि उनकै अग्रसरतामा स्थानीय युवाहरु सुनिल शाही , राज पोखरेल र सुभाष रायमाझीले मायाले भरिएको पोषणयुक्त टिफिन बक्स अभियान सुरु गरेका छन् । 


लुम्बिनी प्रादेशिक अस्पताल बुटवल , बुटवल धागोकारखानामा रहेको कोरोना बिशेष अस्पताल , देबिनगरमा रहेको आइसोलेसन सेन्टरमा उपचारका लागि भर्ना भएका कोरोना संक्रमित बिरामी, तिनको उपचारमा सम्लग्न चिकित्सक,नर्स तथा अन्य स्वास्थ्यकर्मी , अस्पतालका सुरक्षाकर्मी तथा अन्य कर्मचारीलाई दिनहुँ मायाले भरिएको पोषणयूक्त टिफिन बक्स निशुल्क उपलव्ध गराउदै आएका छन् । 


एउटै स्वादले दिक्क नलागोस भनेर हरेक दिन फरक फरक परिकार उपलव्ध गराउदै आएको अभियन्ता पाण्डे बताउछन् । कोभिड संक्रमितको जीबन बचाउने भनेका स्वास्थ्यकर्मी भएकाले उनीहरुको मनोवल बढाउनु कर्तव्य ठानेर टिफिन बक्स अभियान सुरु गरिएको उनको भनाइ छ । परिकार बनाउन पबित्रा भुसाल , अञ्जली खनाल , महेश ज्ञवाली , महेन्द्र जि सि , तुल्सीराम अर्याल , अक्कल जि सि तथा प्रकृति न्यौपाने लगाएतको टिम दैनिक खटिने गरेको छ । मंगलबार सम्म १ हजार ५ सय बढिलाई उनीहरुले टिफिन बक्स बितरण गरेका छन् ।

  
कोभिडका बिरामीको उपचार भइरहेका अस्पतालहरु आफैमा जोखिम युक्त क्षेत्र हुन तर पाण्डे सहित सुनिल , राज र सुभाष भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै हातमा टिफिन बक्स लिएर अस्पताल पुग्ने गरेका छन् । उनीहरुको अभियानलाई स्थानीय मनकारीहरुले समेत सहयोग पुराउदै आएका छन् । सहयोग प्राप्त भएको रकम सामाजिक सञ्जाल फेसबुक मार्फत सार्बजनिक गरेर उनीहरुले आफनो अभियान पारदर्शी र सेवामैत्री भएको उदाहरण प्रस्तुत गरेका छन् । फ्रण्टलाइनरको उत्साह जगाउदै संक्रमितको उपचारलाई प्रभावकारी बनाउने अभियान आफैमा चुनौतिपूर्ण छ तर बिचलित भएका छैनौ  इञ्जिनियर पाण्डेले भने । 
 

प्रतिक्रिया दिनुहोस