विहीबार, ०२ बैशाख २०७८

रुपन्देही र नवलपरासीमा सञ्चालित समूदाय उत्थानशिल परियोजनाको संयुक्त अनुगमन

रुपन्देही ६ माघ ।  रुपन्देही र नवलपरासीमा सञ्चालनमा रहेको समूदाय उत्थानशिल परियोजनाको संयुक्त अनुगमन गरिएको छ । रुपन्देहीका लुम्विनी सास्कृतिक नगरपालिका र सम्मरीमाई गाउँपालिका तथा नवलपरासीको पाल्हिनन्दन , प्रतापपुर र सरावल गाउँपालिकामा समूदाय उत्थानशिल परियोजना सञ्चालनमा रहेको छ । 

बचत समूहमा आबद्ध भएका कारण आपतबिपदको बेला सस्तो व्याजदरमा ऋण लिएर दैनिक गुजारा चलाउन सहज भएको सम्मरीमाई ५ रोहिनीहवा सुभप्रभात बिपद उत्थानशिल सहकारीका कोषाध्यक्ष कलावती हरिजनले बताउनु भयो । 

सामूदायिक प्रकोप व्यबस्थापन समितिको राष्ट्रिय सञ्जालका अध्यक्ष जगन्नाथ कुर्मीले बिपद प्रभाबितहरुको समस्यालाई सवाल बनाउदै समाधानको लागि नेतृत्वदायी भूमिका खेलेको भन्दै सिडिएमको प्रसंशा गर्नुभयो । 

सरकारी निकाय नपुगेको ठाउँमा समेत सिडिएम नेपाल पुगेर बिपदको बेला आँसु पुछ्ने कार्य गरेको भन्दै सरावल ७ मधवलिया नवलपरासीका बयोबृद्धा राजेन्द्रप्रसाद मिश्रले खुशी व्यक्त गर्नुभयो । जिल्ला समन्वय समिति नवलपरासीका संयोजक शिवशंकर रायले ग्रामीण तहमै पुगेर महिलाको क्षमता अभिबृद्धि तथा नेतृत्व बिकासमा टेवा पुराएको बताउनु भयो ।

बिपद प्रभाबित समूदायको आयआर्जनमा सहयोग गर्दै उनीहरुमा बिपद प्रतिकार्य क्षमता बढाउने उदेश्यले मिजेरीयर केजेडइ जर्मनीको आर्थिक सहयोगमा परियोजना सञ्चालनमा रहेको बिकास तथा प्रकोप व्यबस्थापन केन्द्र सिडिएमका कार्यकारी निर्देशक धर्मराज घिमिरेले जानकारी दिनुभयो । 

परियोजना अन्र्तगत ९० बटा बचत समूह , १० वटा कृषक समूह र ५ वटा बिपद उत्थानशिल सहकारीमार्फत करिब ५ हजार बढि बिपद जोखिममा रहेका समूदायका व्यक्तिहरुलाई प्रत्यक्ष टेवा पुराएको परियोजनाका अनुगमन तथा मुल्याङ्कन अधिकृत अशोक चौधरीले जानकारी दिनुभयो । 

जिल्ला समन्वय समिति , जिल्ला प्रशासन , रेडक्रस , गैर सरकारी संस्था महासंघ , पत्रकार महासंघ , सम्वन्धित पालिकाका प्रतिनिधिहरु , संस्थाको कार्यसमिति पदाधिकारी तथा कर्मचारीहरुले परियोजनाको संयुक्त अनुगमन गरेका हुन । 
 

प्रतिक्रिया दिनुहोस