बुधबार, २९ बैशाख २०७८

इन्टेग्रीटी आईकन २०२० सार्वजनिक

काठमाण्डौ २७ पुष । इन्टेग्रीटी आईकन २०२० सार्बजनिक गरिएको छ । हरेक वर्ष जस्तै, यस वर्ष पनि अकाउन्टविलिटी ल्याब नेपालले इन्टेग्रीटी आईकन २०२० सार्वजनिक गरेको हो । यो बर्षको आईकन भर्चुअल माध्यमबाट सार्बजनिक भएको हो । इन्टेग्रीटी आईकन सार्वजनिक सेवामा रहेर निष्ठापूर्वक जिम्मेवारी बहनगरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने र निष्ठापूर्ण समुदाय निर्माण गर्न थालिएको खुला अभियान हो । ७ वर्ष अगाडी नेपालबाट यो अभियान सुरु भएको थियो । यो अभियान हाल विश्वका १२ मुलुकमा पुगिसकेको छ । 

यस वर्षका इन्टेग्रीटी आईकनहरूलाई देशभरीबाट प्राप्तभएका १ हजार ५०२ मनोनयन बाट निर्णायक समितिले छनौट गरेको थियो । समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुखआयुक्त सुर्यनाथ उपाध्याय, अधिकार सम्पन्न संघीय प्रशासनिक पुनः संरचना सहजिकरण समितिका अध्यक्ष एवम् प्रशासनविद् काशिराज दाहाल,  पूर्व सचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक सुचिता प्याकुरेल रहनुभएको थियो । माघ ९ गते आयोजना हुने बिशेष समारोहमा भर्चुअल माध्यमबाट उहाँहरुलाई सम्मान गरिने अकाउन्टविलिटी ल्याब नेपालले बताएको छ ।  

इन्टेग्रीटी आइकन २०२० बाट सम्मानित हुने को को हुन त ? 

आरती थारु
जनस्वास्थ्य निरीक्षक, नेपालगञ्ज स्वास्थ्यचौकी 


प्युठान जस्तो विकट ठाउँमा कार्यरत हुँदा उहाले सुत्केरी महिलाका लागि गरेको काम उल्लेखनिय छ । उहाले त्यहाँ रहँदा, सुत्केरी सेवा सबैको पहुँचमा पु¥याउन बर्थिङ सेन्टर सबैको पायक पर्ने ठाउँमा राख्न अग्रणी भुमिका निर्वाह गर्नुभयो । हाल नेपालगञ्जमा कार्यरत रहँदा कोभिड – १९ महामारीको समयमा उहाले क्वारेन्टिनमा कामगर्दा देखाएको साहस, आईसोलेशन र होम आईसोलेशनमा बस्ने संक्रमितलाई गरेको सेवाको सबैले प्रसंशा गरेका छन् । उहाँ २०७० सालमा स्वास्थ्य सेवा मार्फत निजामती सेवामा प्रबेश गर्नुभएको हो ।  


दिपक ज्ञवाली 
महाशाखा प्रमुख 
उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय, लुम्विनी प्रदेश, बुटवल 

बनलाई आयस्रोतको माध्यमबनाउन सकिन्छ , अतिक्रमित बन राज्यको नाममा फिर्ता गर्न जोखिमको सामना गर्न सक्नु पर्दछ । समुदाय र विशेष गरेर महिला समूह परिचालन गरेर तस्करीलाई निरुत्साहन गर्न सकिन्छ भनेर उदाहरण प्रस्तुत गर्नुभएको छ । टिम वर्कमा विश्वास गर्ने र जिम्मेवारी बाडफाड गरेर कामगर्ने भएकोले उहाँ कार्यरत कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्दै आईरहेका छन् । २०५२ सालमा निजामती सेवा मार्फत बन सेवामा ज्ञवाली प्रबेश गर्नुभएको हो । 


हेम बहादुर आले मगर 
बाली संरक्षण अधिकृत 
कृषि ज्ञान केन्द्र, ओखलढुंगा 

कृषकलाई दिगो व्यवसायिक खेतीगर्ने तालिम दिन उहाँले फार्म स्कुल सञ्चालनमा ल्यानु भयो । त्यसबाट कृषकले खेतीगर्ने तरिका र प्रविधिको उचित प्रयोग गरेर आयआर्जन गर्नसके । कृषकको समस्या बुझेर समाधानका लागि अगुवा कृषक गोष्ठिको आयोजना गर्नुभयो । वास्तविक कृषकको पहिचान गरेर प्रभावकारी स्रोत परिचालन गर्नमा पनि उल्लेख्य काम उहाँबाट भएको छ । २०६५ सालमा उहाँ नायव प्राविधिक सहायक मार्फत सरकारी सेवामा प्रबेश गर्नुभएको हो । 


मञ्जु महत 
अधिकृत 
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, मंगलसेन नगरपालिका अछाम  

अछाममा घरेलु हिँसा र छाउपडी प्रथा कम गर्न र बालबालिकाको नेतृत्व विकास गर्नमा ठुलो योगदान गर्नुभएको छ । यदिकुनै महिलाले घरेलु हिँसाको सामना गर्नुपरर्यो भने सबैले पहिलो पटक सम्झिने नाम हो मञ्जु महत । पहिला वस्तु स्थिती बुझ्ने, व्यवहारिक कार्ययोजना बनाउने र त्यसको प्रभावकारी कार्यान्वयन गर्नु उहाको कार्यशैली हो । उहाँले २०५० सालमा शिक्षकको स्थायी जागिर छोडेर महिला तथा बालबालिकाको अस्थायी जागिर रोज्नु भएको हो । 


डाक्टर नविनबन्धु पहाडी
शिक्षक 
नीलकण्ठ उच्च माध्यमीक विद्यालय, धादिङ
 

धादिङमा दलित र सिमान्तकृत समुदायका बालबालिकाको पढ्न पाउने अधिकारको सुनिश्चितता गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यक्ति तथा संस्थासँगको सहकार्यमा विद्यालय स्थापना गर्न नेतृत्वदायी भुमिका निर्वाह गर्नुभएको छ । त्यसै गरेर आमाबाबु गुमाएका बालबालिका अभावका कारण पढाईबाट बञ्चित नहोउन भन्नकालागि बालअनाथाश्रम पनि सञ्चालन गर्नुभएको छ । उहाँ २०५० सालमा निमावि तहको शिक्षक मार्फत सरकारी सेवामा प्रबेश गर्नुभएको हो । 

प्रतिक्रिया दिनुहोस