बुधबार, ०८ चैत्र २०७९

रुपन्देहीका २ हजार बढि नेकपा कार्यकर्ताद्धारा पार्टी छोडेको घोषणा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीका दुई हजार जनाभन्दा धेरै कार्यकर्ताले पार्टी परित्यागको घोषणf गरेका छन् ।

प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा उनीहरुले पार्टी परित्याग गर्ने घोषणा गरेका हुन् । उनीहरुले पार्टीका सांसदहरुले मतदाता र कार्यकर्तासामु चुनावमा गरेका प्रतिवद्धता बिर्सेर बुटवलबाट राजधानी दाङ सार्न लागेकाले पार्टीमा बस्नुको औचित्य नभएकाले पार्टी परित्याग गरेको घोषणा गरे ।

रुपन्देहीमा अस्थायी राजधानी राख्दा रुपन्देहीका व्यवसायिक संघसंस्थाहरुले आफ्ना कार्यालय भवनहरु दिएर योगदान गरे पनि सरकार र यस क्षेत्रका सांसदहरुले त्यसलाई नजरअन्दाज गरेको गुनासो गरे ।

राजधानी सार्ने प्रस्तावका सन्दर्भमा पार्टीका नेताहरुको लाचारीपनले गर्दा आउंदो निर्वाचनमा लज्जास्पद पराजय हुने उनीहरुको तर्क छ । उनीहरुले अब सत्तारुढ नेकपामा पार्टीमा बसिररहन नैतिकता नदिएको भन्दै स्वतन्त्र रहने स्पष्ट पारे ।

रुपन्देही व्यापार सङ्घ, रुपन्देही उद्योग सङ्घ, होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ, पश्चिम नेपाल बस व्यवसायी प्रालीलगायत ३५ संस्थामा आबद्ध नेकपाका सदस्यले पार्टी छोड्ने घोषणा गरेकाे होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष समुद्र जीसीले बताउनुभयो । उहाँले पार्टीलाई सरकारमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका व्यवसायी मतदाताको अवमूल्यन भएकाले पार्टी छोड्ने घोषणा गरको बताउनुभयो । 

पार्टी त्याग्नेहरूमा नेकपानिकट विभिन्न विभाग र औद्योगिक, व्यावसायिक संघसंस्थाका अगुवाहरू मोतीलाल पाण्डे, एजाज आलम, यमलाल लोहनी समुद्र जीसी, माधव नेपाल, बाबुराम बोहोरा, राजेन्द्र ढकाल, कृष्ण घिमिरे लगायत छन् । 

प्रदेश नम्बर ५ को राजधानी दाङ सार्ने तयारी भएपछि केही दिनयता रुपन्देहीमा विरोध प्रदर्शन हुँदै आएको छ । अहिले प्रदेश नम्बर ५ काे प्रदेश सभाकाे बैठक सुरु भएकाे छ । आज नाम र राजधानीकाे प्रस्तावमाथि मतदान हुने कार्यसूची रहेकाे छ । 

प्रतिक्रिया दिनुहोस