विहीबार, ०२ बैशाख २०७८

प्रदेश पाँचको राजधानी दाङ र नाम लुम्विनी राख्ने प्रस्ताव प्रदेश सभामा पेश

रुपन्देही १६ असोज । प्रदेश नम्बर पाँचको नाम लुम्विनी र राजधानी दाङ्गको भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभामा पेश भएको छ । प्रदेश मन्त्रीपरिषदले पारित गरेको उक्त प्रस्ताव आन्तरिक मामिला मन्त्री कुलप्रसाद के सि ले प्रदेश सभाको आजको बैठकमा पेश गर्नुभएको हो ।
 
प्रदेश सरकारले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती , गढवा र अर्घाखाँचीको सितगंगालाई जोडेर राजधानी बनाउने निर्णय गरेको थियो । पार्टी अध्यक्षहरु पुष्पकमल दाहाल र के पि ओली बिच सहमती जुटेपछि प्रदेश सरकारले निर्णय गर्दै प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव प्रदेश सभामा पेश गरेको हो । 

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य फकरुद्धिन खानले प्रकृया छलेर सर्बसत्तावादी सोच र दुइ तिहाईको दम्भ निर्देशित प्रस्ताव भएको बताउनु भयो । उहाँले हचुवाको भरमा राजधानी तोक्नु नै थियो भयो बिशेष समिति, बिज्ञ समुहका नाममा ५० औ लाख रुपैया राज्यकोषबाट किन दुरुपयोग गरियो त्यसको जवाफ सरकारले दिनुपर्ने बताउनु भयो । सदस्य खानले प्रस्ताव आउनु सकारात्मक हो तर संसदिय बिशेष समितिको प्रतिबेदन किन सार्बजनिक गरिएन भन्दै प्रश्न गर्नुभयो । 

प्रदेश सभाको अंक गणित अनुसार ८७ सदस्यीय प्रदेशसभामा नेकपाका ५९ ,कांग्रेसका १९, जनता समाजबादीका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सदस्य रहेका छन् । नेकपाले प्रदेश सरकारले पेश गरेको प्रस्तावको पक्षमा ह्वीप लगायो भने प्रदेश सभाको दुइ तिहाई बहुमतले प्रदेशको स्थायी राजधानी दाङ लैजाने पक्षमा निर्णय गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस