मंगलबार, ०५ असोज २०७८

कोरोना मुक्त भएकी ७२ बर्षिया बृद्धाको अनुभव – दिर्घरोग भएपनि आत्तिनु हुदैन

रुपन्देहीको मणिग्रामकी ७२ बर्षिया खिमकला नेपाल श्वासप्रश्वास, मुटु र मधुमेहकी दिर्घरोगी हुनुहुन्छ । पछिल्लोपटक भरतपुर क्यान्सर अस्पतालले उहाँको पाठेघरमा क्यान्सर भएको पुष्टि ग¥यो । ३२ बर्षदेखि मुटुको औषधी सेवन गरिरहेकी खिमकलालाई क्यान्सर पुष्टि भएपछि उपचारको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगियो । त्यहाँ भर्ना भएर १५÷१६ दिन उपचार गराउनुभयो । 

सुगर नघेटका कारण उहाँको पाठेघरको अप्रेसन हुन सकेन ।  शिक्षण अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरूमा समेत कोरोनाको संक्रमण बढेको, सुगर नियन्त्रणमा नआएकोले घरमै गएर आराम गर्न र अवस्थामा सुधार आएपछि शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिए । सोही अनुसार उहाँ काठमाण्डौमा रहनु भएका छोरासँग घरमै बस्नु भयो । 

घरमा बसिरहेको बेला उहाँमा रुघाखोकी, ज्वरो र ज्यान चसकचसक दुख्ने लक्षण देखिन थाल्यो । त्यसपछि उहाँ लगायत परिवारका अन्य सबै सदस्यको कोरोना परीक्षण गर्दा पिसिआर रिर्पोट पोजेटिभ आयो । उहाँको स्वास्थ्य अवस्थालाई ख्याल राखेर तुरुन्तै पाटन अस्पताल लगियो । परिवारका अन्य सदस्यहरू होम आइसोलेशनमा बसे । एकजना छोरी भने आमालाई कुर्नका लागि अस्पताल जानुभयो । 

मुटुरोग, सुगर, क्यान्सरसँगै उमेर बढी भएकाले कोरोना संक्रमण देखिएपछि परिवारका अन्य सदस्यहरूमा चिन्ता थपियो । तर, संक्रमित खिमकलाले हिम्मत हार्नुभएन । कोरोनालाई जसरी पनि जित्नुछ भनेर भगवानसँग प्रार्थना गर्नुभयो, जप गर्नुभयो, दिएको कुरा खान्न भन्नुभएन । जीउ चसक चसक दुख्ने, रुघाखोकी लाग्ने, सामान्य ज्वरो आउनु बाहेक उहाँमा अन्य जटिल लक्ष्यण देखिएन । 

११ दिन पाटन अस्पतालको बसाईपछि गरिएको पिसिआर परीक्षणको रिर्पोट नेगेटिभ आयो । उहाँको परिवारका अन्य सदस्यहरूको रिर्पोट पनि नेगेटिभ आयो ।  कोरोनालाई परास्त गरे भन्दै खिमकला खुशी हुनुभयो । परिवारका सदस्यहरू पनि प्रफुल्लीत भए । अस्पतालको बसाईमा आफुलाई स्वास्थ्कर्मीहरूले फरक व्यवहार नगरेको उहाँको अनुभव छ । 

१४ दिन अस्पताल बसेर उहाँ आफ्नै घर मणिग्राम पुग्नु भएको छ ।  कोरोना लाग्ने बित्तिकै मरिन्छ भन्ने सुनेकी खिमकला अहिले कोरोना निको हुन्छ, लागेपनि डराउनु पर्दैन भन्दै अनुभव बाँडीरहनु भएको छ । उहाँ अरुको घरमा त जानु भएको छैन, तर छिमेकीहरू भने स्वास्थ्यलाभ गरेर फर्किएको भन्दै भेट्न आउने गरेका छन । 

हिम्मत हार्नुहुदैन, आत्तिनु हुदैन, पोषिला खानेकुरा खानुपर्दछ, ध्यान, जप, योग गर्नुपर्दछ भनेर अरुलाई ढाडस दिईरहनु भएको छ । “मुटुको रोगी छु । फुर्तिफार्ति त मेरो छैन, तर मुटुरोग, सुगर, क्यान्सर जस्ता रोग भएरपनि कोरोनालाई जितिन्छ भन्ने उदाहरण म हुँ ।” संक्रमणमुक्त खिमकला बताउनुहुन्छ । 
                                                                    

साभार : Coronavirus CivActs Campaign Bulletin

प्रतिक्रिया दिनुहोस