बुधबार, ०६ असोज २०७८

समूदायमा कोरोना फैलिन नदिन सरावल र प्रतापपुरको तयारी

नवलपरासीको सरावल र प्रतापपुर गाउँपालिकाले स्थानीयस्तरमा कोरोनाको संक्रमण थप फैलिन नदिनका लागि आवश्यक पुर्बतयारी गरिरहेको बताएका छन । केन्द्र र प्रदेश सरकारले आवश्यक सहयोग नगर्ने र स्थानीयले कुरै नबुझी बिरोध गरिरहने प्रबृतिका कारण समस्या आइरहेपनि महामारीको सामना गरिरहेको सम्वन्धित पालिकाहरुको भनाई छ ।

 
९ वटा वडा रहेको प्रतापपुर गाउपालिकामाको वडा नम्बर ६ भारत संग सिमाना जोडिएको छ । भारत संग सिमाना जोडिएको भएकाले सो पालिका उच्च जोखिममा रहेको छ । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ऋिषीदेब चौधरीका अनुसार पालिका भित्र अहिले सम्म ५२५ जनाको पिसिआर परीक्षण गरिएका मध्ये २८ जनामा संक्रमण पुष्टि भएको छ । एकजना महिलाको मृत्यु भएको छ । 

संक्रमण पुष्टि भएका ७ जना भारतबाट आएका हुन भने २१ जना स्थानीय हुन । एकजना जनप्रतिनिधि र २ स्वास्थ्यकर्मी समेत संक्रमित छन । बेलाटारीमा रहेको त्रिभूबन क्याम्पसमा आइसोलेसन सेन्टर बनाइएको छ । अहिले आइसोलेसनमा बस्नेहरु नभएपनि सेवा भने सुचारु छ ।

पालिका भित्र होम आइसोलेसनमा १५ जना बसेका छन् । एउटा प्राथमिक स्वास्थ्य केन्द्र र ६ स्वास्थ्य चौकी रहेको प्रतापपुर गाउपालिका भित्र ६१ जना स्वास्थ्यकर्मीहरु रहेका छन् । समूदायमा रहेका व्यक्तिहरु नै संक्रमित हुन थालेपछि पालिकाले चेतनामूलक सन्देशसहितका सामग्रीहरु प्रकाशन तथा प्रशारण गरेको स्वास्थ्य शाखा प्रमुख चौधरीले बताउनु भयो । 

साबुनपानीले बारम्बार साबुन पानीले हातधुन , भिडभाडमा नजान, भौतिक दुरी कायम गर्न र मास्क लगाउन पालिकाबाट सर्बसाधारणलाई आग्रह र अनुरोध गर्ने कार्य निरन्तर भइरहेको प्रतापपुर गाउपालिकाका कार्यबाहक अध्यक्ष अञ्जुकुमारी चौधरीले बताउनु भयो । 

सरावल गाउपालिकाले पनि पालिका भित्रका नागरिकलाई कोरोना संक्रमणबाट जोगाउन आवश्यक तयारी गरेको बताएको छ । गाउपालिका अध्यक्ष राधेश्याम चौधरीका अनुसार अहिले सम्म ३४३ जनाको पिसिआर परीक्षण गरिएकोमा १५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १ जना स्वास्थ्यकर्मी र एकजना स्वास्थ्यचौकीका कर्मचारी पनि छन । वडा नम्बर ५ मा रहेको स्कुलमा आइसोलेसन सेन्टर बनाइएको भएपनि त्यहाँ कोही बसेका छैनन । १२ जना होमआइसोलेसनमा रहेका छन । 

पालिका भित्र ६ वटा स्वास्थ्य चौकी र एउटा स्वास्थ्यकेन्द्रमा ५५ जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । ७ वटा वडा रहेको पालिकाको वडा नम्बर ७ भारतसंग सिमा जोडिएको छ । संक्रमित पनि अधिकांश रोजगारीका लागि भारत गएर घर फर्किएका हुन । 

गाउपालिकाका अध्यक्ष चौधरीका अनुसार आइसोलेसन सेन्टर र क्वारेन्टीन बनाउदा सुरुवातमा स्थानीयको बिरोध हुने गरेको छ । तरपनि सम्झाई बुझाइ गरेपछि प्रस्ताव गरिएकै स्थानमा आइसोलेसन सेन्टर र क्वारेन्टीन बनेका छन । लकडाउन निषेधाज्ञाले मजदुरी गरेर खाने बर्गलाई समस्या परेको भन्दै पालिकाले भोकमरी नहोस भनेर खाद्यान्नको व्यबस्थापन गरिरहेको अध्यक्ष चौधरीले बताउनु भयो । 

कोरोना संक्रमणबाट जोगिने सन्देश गाडीबाट माइकिङ गर्ने , स्वास्थ्य स्वयम सेबिका परिचालन र बिभिन्न संघ संस्थाहरु संग समन्वय गरेर कोरोनाले किशोर किशोरीहरुमा पार्ने मानसिक प्रभावका बिषयमा जानकारी गराउने कार्य गरिरहेको स्वास्थ्य शाखा प्रमुख ओमनारायण देबकोटाले जानकारी दिनुभयो ।  
 

प्रतिक्रिया दिनुहोस