बुधबार, ०८ चैत्र २०७९

बि पी को सपना र अबको कांग्रेस

जननायक वी. पी. कोईरालाको १०७ औं जन्मजयन्तीका सन्दर्भमा विभिन्न खाले विचारहरु विभिन्न माध्यम र श्रोतहरुबाट प्रस्तुत भइ रहेका छन् । जसमा सबैको चिन्ता र चासो वर्तमान शासन पद्धती , जनसरोकारका विषय, जननिर्वाचित दुई तिहाइको स्वनामधन्य कम्युनिष्ट सरकार, प्रमुख प्रतिपक्ष एवं अस्तित्वमा रहेका राजनैतिक दल र तिनले गरिरहेका क्रियाकलाप नेपाली नागरिकले गम्भिर रुपमा हेरी रहेकाछन् ।

कुनैपनि मुल्य, मान्यता, सिद्धान्त, आदर्श र व्यवहारमा जनताप्रती अनुदार, गैरजिम्मेवार, ढोंगी र छेपारे शैलीबाट संचालित राज्यसत्ता वा सरकार नेपाल र नेपालीका लागि हितकारी हुन सक्दैन । यो कुरामा हामी सबैले बुझ्न आवश्यक छ कि यसो भन्दै गर्दा आज वी. पी. जयन्तीका दिन हाम्रो पार्टी नेपाली कांगे्रसका कार्यकर्ता हामीले यो वा त्यो कुनामा बसेर आफ्नै पार्टी नेता वा कार्यकर्तालाई तेजोबध गर्दै नुनचुक लगाउने मनसाय पालेर गौंडा कुर्नु कती युक्तिसंगत सार्थक वा हितकारी हुन सक्दछ ?

नेपाली कांगे्रस पार्टी र यसका कार्यकर्ता वी. पी. ले भन्नु भए जस्तै “तिमी बाटोमा हिंडदै गर्दा बाटो किनार वा छिंढीमा बसेका मानिसले ऊ कांग्रेस बाटोमा हिंडी रहेछ भनेर चिन्ने तिम्रो हिंडाई बोलाई र व्यवहारबाट देखिनु पर्दछ ।”  के आज हामी यो वाटोमा छौं ? नेपालको प्रजातान्त्रिक इतिहासमा २००७, २०३६, २०४६ र २०६२÷०६३ बाट स्थापित नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान ल्याउन नेतृत्व गरेको कांग्रेस आज किन सांघुरो घेरामा बस्नु परेको छ भनेर एक छिन घोत्लिने र आफै भित्रबाट नयां उर्जा उत्साह जांगर र योजनाका साथ उठ्ने वेला भएन र ?

भनिन्छ घरमा आगो लागि सकेपछि पानी र मुहान खोज्ने व्यक्ति कदापी सभ्य र जिम्मेवार हुन सक्दैन । कोरोना रुपी माहामारीले समग्र मानव जाती र विश्व समुदाय आहत भएको अवस्थामा समय र अवसर पाएर पनि दीन दुखी, गरीब, असहाय, र पिडितको प्रतिनिधि हौं भन्ने कम्युनिष्ट सरकारले जनताका लागि के गर्न सक्यो ? यति सम्म निकम्मा र नालायक भयो कि विदेशमा भएका हाम्रा दाजु भाई आफ्ना लालाबाला र परिवारको रक्षाका लागि आफ्नो घर फिर्ता आए । तर सरकार मुकदर्शक र किंकक्र्तव्य विमुढ भएर बस्यो । कमिशन, भ्रष्टाचार र अनाचारमा लुप्त भयो । जसलाई देखेर स्वदेश आएको भोको र नाङ्गो नेपालको भविष्यको कर्णधार आफ्ना सानासाना बालबच्चा बोकेर भोकै मर्नु भन्दा खाएर कोराना लागि मरौंला भन्दै देश छोड्न वाध्य भएका छन् । तांतीका तांती भारत जान सिमा नाकामा लामबद्ध भएका नागरिकलाई देखेर हाम्रो सरकार लज्जाबोध गर्दैन बरु आफ्नै पार्टी भित्र मानमर्दन र आफ्नै सहयात्री नेता कार्यकर्ताको सेखि झार्न अहोरात्र खट्दछ । के यसैका लागि हिजो नेपाली नागरीकले नेपाल कम्युनिष्ट पार्टी नामको छद्मभेषी झुण्डलाई मतदान गरेका हुन ?

यसो भनि रहंदा म आफै आवद्ध रहेको मेरो पार्टी नेपाली कांग्रेसका गतिविधी र क्रियाकलाप जन कल्याणकारी, जिम्मेवार र उत्तरदायी छन् भनी शिर ठाडो पारी दावा गर्न सक्ने अवस्थामा आफुलाई पाउन कठिन देख्छु । हामीसंग गौरवशाली इतिहास र त्यसले दिएको व्याज वाहेक मैले देख्न सकेको छैन । हामीसंग छ त केवल एक साथीले अर्काे साथी नाङ्गो पार्ने क्षमता, अविश्वास, घात, प्रतिघात, छल र हुल्लडबाजीपना । के यसैका लागि कांग्रेस बनेको हो ? कदापि होइन ।

कांग्रेस त राष्ट्ररक्षक स्वाभिमानी आफ्नै धर्म संस्कृति परम्परा र इतिहासले सुसज्जित सगरमाथा जस्तो गगन चुम्मी संसार श्रृजना गर्ने एक महान आन्दोलन हो भने नेपाली आमा बुवा, दिदी बहिनी, दाजु भाईका मन मष्तिस्क र मुटुमा बसेको राष्ट्रसेवकहरुको जमात हो । जसले जनताका चहराई रहेका घाउहरुमा मलहमपट्टी लगाओस, भोको र नाङ्गो बच्चालाई न्यानो पार्दै दुध र आहार उपलब्ध गराओस, अशिक्षीतलाई शिक्षा, बेरोजगारलाई रोजगार, विरामीलाई औषधी, बृद्धलाई सुरक्षा र ढाढस प्रदान गर्दै युवालाई पसिना बगाएर श्रृजना गर्ने फुलवारी बनाओस । 

त्यसैले नेपाली कांग्रेस अव नसच्चिए धेरै ठूलो कष्टमा पर्न सक्दछ । आजको आवश्यकता परिपुर्ति गर्नका लागि १०७ औं वी. पी. जयन्तीको पावन अवसरमा यस पार्टीका पहिलो पुस्ताका सम्पुर्ण नेता हाम्रा आदर्श, संरक्षक , अविभावक, मार्गदर्शक र सल्लाहकार बनेर नयां विहानी, नयां उर्जा, नयां जिम्मेवारी र नयां इतिहास रचना गर्न वी. पी. लाई धरोहर र आस्था मान्दै आफै धन्य हुदै कल्प–कल्प सम्पुर्ण नेपालीहरुको अन्तस्करणमा बस्ने गरी बाटो प्रसस्त गरी दिनुहुन सविनम्र अनुरोध गर्दछु ।

जय नेपाल 

              लेखक नेपाली कांग्रेसका महासमिति सदस्य तथा बि पि अध्ययन प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ । 
 

प्रतिक्रिया दिनुहोस