सोमबार, ३१ जेठ २०७८

दुई वर्षभित्रमा कोरोना भाइरस नियन्त्रणमा आउन सक्ने

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अबको दुई वर्षभित्रमा कोरोना भाइरस नियन्त्रणमा आउन सक्ने आशा गरेको छ । संगठनका महानिर्देशक डाक्टर टेड्रोस एडनाम गेब्रेयेससका अनुसार सन् १९१८ मा फैलिएको स्पेनिस फ्लूको तुलनामा कोरोना नियन्त्रणमा आउन सक्ने देखिएको छ । अहिलेको उपचार पद्धतिले कोरोनालाई दुई वर्षभित्रमा नियन्त्रणमा लिन सक्ने उहाँले बताउनुभयो । 

स्पेनिस फ्लू पनि दुई वर्षमा नियन्त्रणमा आएको भन्दै उहाँले अबको दुई वर्षमा कोरोनालाई पनि नियन्त्रण गर्न सकिने एउटा आशा देखिएको उहाँले बताउनु भएको हो । उहाँले एक अर्कोको सम्पर्कमा आएकै कारण विश्वमा कोरोना फैलिएको पनि बताउनु भएको छ ।

स्पेनिस फ्लूका कारण सन् १९१८ देखि १९२० सम्ममा कम्तीमा पाँच करोड मानिसको ज्यान गएको थियो ।  कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म झण्डै ८ लाख मानिसको ज्यान गएको  छ भने २२ मिलियनभन्दा बढी संक्रमित छन्।

 टेड्रोसलाई महामारीको बेला व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) मा भएको भ्रष्टाचारसम्बन्धी सोधिएको एक प्रश्नमा जवाफ दिँदै उनले यसलाई ‘आपराधिक’ भनेका छन्, ‘पिपिईमा गरिएको भ्रष्टाचार वास्तवमै मेरा लागि हत्या बराबर हो। कुनै पनि भ्रष्टाचार स्वीकार्य छैन।’

महामारी चलिरहेको समयमा केन्याको राजधानी नैरोबीमा भ्रष्टाचारको विरोधमा शुक्रबार प्रर्दशन भएको थियो। त्यहाँका धेरै सरकारी अस्पतालका चिकित्सकहरुले ज्याला नपाएको र सुरक्षा उपकरणको अभाव भएको भन्दै हड्ताल गरेका थिए।

प्रतिक्रिया दिनुहोस