बुधबार, ०७ असोज २०७७

कोरोना संक्रमित होम आइसोलेसनमा बस्दा के गर्नु पर्दछ ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितले घरमै अर्थात होम आइसोलेसनमा बस्दा अपनाउनु पर्ने नियमबारे जानकारी गराएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कुनै संक्रमित घरमै आइसोलेसनमा बस्न चाहेमा पालना गर्नुपर्ने नियम जानकारी गराउनु भएको हो । उहाका अनुसार त्यसका लागि पर्याप्त प्रकाश आउने र हावा ओहोरदोहोर हुने छुट्टै कोठा हुनुपर्नेछ ।

उपचार अवधिभर आवश्यक पर्ने सामान परिवारका सदस्यबाट मगाउने, पर्याप्त मात्रामा पानी, झोलिलो र पोषिलो खानेकुरा खानुपर्नेछ । संक्रमितले प्रयोग गरेका भाँडा सफा गरेर राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयाग गर्नुपर्ने, स्नानघर वा शौचालय छुट्टै हुनुपर्नेछ ।

प्रवक्ता डा गौतमका अनुसार सामूहिक रूपमा शौचालय प्रयोग गर्नुपर्ने अवस्थामा संक्रमितले प्रयोग गरिसकेपछि राम्रोसँग निर्मलीकरण गरेर मात्रै परिवारका अन्य सदस्यले प्रयोग गर्नुपर्नेछ । यस्तै दाँत माझ्ने ब्रसजस्ता सामान छुट्टै राखेर प्रयोग गर्ने, घरका ढोका, टेबल लगायत धेरै व्यक्तिले चलाउने सामान समयसमयमा निर्मलीकरण गर्ने, भाँडा र कपडा धुँदा पञ्जा लगाएर धुने र राम्रोसँग सुकाएर मात्र प्रयोग गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । 

संक्रमितको हेरचाहमा खटिने व्यक्तिले अनिवार्य रूपमा मेडिकल मास्क प्रयोग गर्नुपर्ने तथा बढी जोखिममा रहने समूह दीर्घ रोगी, ६० वर्षमाथिका, गर्भवती र सुत्केरी लाई टाढा राख्नुपर्ने छ । यस्तै संक्रमितको ज्वरो दिनमा तीन पटक जाँच गरी अभिलेख राख्ने र सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने छ । 

गौतमका अनुसार श्वास प्रश्वासमा कठिनाइ भएमा, छाती दुखेमा, ओठ अनुहार नीलो भएमा, होस हराएमा र अन्य जटिल अवस्था देखिएमा तत्काल स्वास्थ्यकर्मीलाई जानकारी गराइहाल्नुपर्छ । स्थानीय स्वास्थ्यकर्र्मीले दिनमा कम्तीमा दुईपटक संक्रमितको स्वास्थ्यबारे जानकारी दिनुपर्ने उहाँले बताउनु भयो । 

हरेक स्थानीय तहले ५० संक्रमितका लागि १ स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्नेछ । स्वास्थ्यकर्मी वा नर्सले एक बिरामी हेरे बाफत दिनको २ सय रुपैयाँका दरले पारिश्रमिक पाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस