मंगलबार, २१ मंसिर २०७८

अमेरिकामा टिकटक र वीच्याटमा प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ भिडियो एप टिकटक र वीच्याटमा प्रतिबन्ध लगाएका छन् । उनले यी दुई चिनियाँ एपमा प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर समेत गरेका छन् । तत्कालका लागि यो प्रतिबन्ध ४५ दिनसम्म लागू हुनेछ । प्रतिबन्ध लगाउनुका पछाडि अमेरिकाको राष्ट्रिय सुरक्षाको हितमा गरिएको फैसला भएको उनले तर्क गरेका छन् ।

उक्त निर्णयसँगै अब अमेरिकामा कम्तीमा ४५ दिन चिनियाँ एप टिकटक र वीच्याट प्रतिबन्ध हुनेछन् । जसमा टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्ससँग कुनै पनि प्रकारको लेनदेनमा रोक लगाइएको छ ।

अमेरिकी कम्पनी माइक्रोसफ्टले अमेरिकामा टिकटकको कारोबार खरिद गर्न चाहेको छ । भारत र चीनबीचको तनावका कारण भारत सरकारले टिकटकसहित ५० भन्दा बढी चिनियाँ एपमा प्रतिबन्ध लगाएको केही समयपछि अमेरिकाले पनि टिकटक र वीच्याटमा प्रतिबन्ध लगाएको हो । वीच्याटको मालिक चिनियाँ कम्पनी टेन्सेन्ट हो । ट्रम्पको उक्त आदेशपछि टेन्सेन्टको सेयरको मूल्य घटेको छ । 

प्रतिक्रिया दिनुहोस