बुधबार, ०७ असोज २०७७

कपिलबस्तुमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द, उल्लंघन गरे कारवाही

कपिलबस्तु २४ साउन । कपिलवस्तुमा शुक्रबारबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द भएका छन । जिल्लामा पछिल्लो समय समुदायमै कोरोना देखिएकाले १० दिन सम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रशासन कार्यलयले सुचना जारी गर्दै बिहान ५ बजेबाट लागु हुने गरी साउन ३२ गते राती १२ बजे सम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताउनुभयो । प्रशासनको सुचना उल्लंघन गरे कानुन बमोजिम कारवाही गर्ने पनि प्रशासन कार्यलय कपिलवस्तुले चेतावनी दिएको छ । यस अवधीमा अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यलय, बैंक तथा वित्तिय संस्थाबाट प्रदान गरिने सेवाहरु पूर्ण रुपमा बन्द गरिने छ ।

यस्तै मालवाहक ढुवानीका साधन बाहेक जिल्ला भित्र संचालन हुने सार्वजनिक यातायातका सवारी साधानहरु पूर्ण रुपमा बन्द गरिने छ भने निजी सवारी साधन मोटरसाइकल, स्कुटरहरु जोर गते जोर र बिजोर गते बिजोर नम्बर गरी संचालन हुने छन् । 

प्रमुख जिल्ला अधिकारी  पौडेलले बजारहरु भने पूर्णरुपमा खुल्ला हुने स्पष्ट पार्नुभयो । यद्यपि उहाँले नेपाल सरकारले पसल, व्यवसाय सञ्चालन गर्दा अपनाउने नियम भने अनिवार्य कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । पसल सञ्चालन गर्दा भीँडभाड हुन नदिने, अनिवार्य सेनेटाइजरको प्रयोग गर्ने र माक्स प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । साथै उहाँले होटल तथा रेष्टुरेन्ट भने सञ्चालन गर्न नपाइने पनि बताउनुभएको छ । सरकारले अझै होटल तथा रेष्टुरेन्ट खोल्न नभनेको भन्दै जिल्लामा त्यो नियम लागू भएको दाबी गर्नुभयो ।

स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार साउन १९ गते समुदायस्तरमा संकलन गरिएको नमूनामध्ये २१ जनामा संक्रमण पुष्टि भएको छ । कपिलवस्तु नगरपालिका तौलिहवाका २० जना हुन् भने मायादेवी गाउँपालिकाका १ जनामा संक्रमण भएको हो । तौलिहवाका ९ जना बैंक तथा वित्तिय संस्थाका कर्मचारी हुन् । गुहेश्वरी फाइनान्सका ४ जना, ग्लोबल आइएमइका ३ जना, कृषि विकास बैंकका १ जना र मेघा बैंकका १ जनामा संक्रमण पुष्टि भएको हो ।

तौलिहवाकै २ जना निजी मेडिकल सञ्चालक, गैरसरकारी सस्थामा कार्यरत ३ जना, स्वास्थकर्मी १ जना, शिक्षक २ जना र अन्य बजार क्षेत्रका सर्वसाधारण रहेको थापाले बताउनुभयो । यो संगै कपिलवस्तु जिल्लामा संक्रमितको संख्या ८४० पुगेको छ । यो संगै प्रदेश ५ मा संक्रमितको संख्या ४ हजार ४ सय ३ पुगेको छ । जसमा ३ हजार ८ सय ६७ पुरुष र ५ सय ३६ महिला रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस