बुधबार, ०७ असोज २०७७

गरिमा बैङ्कमा कार्यरत कर्मचारीमा कोेरोना पुष्टि भएपछि बैङ्क सिल

रुपन्देही २० साउन । रुपन्देहीको देबदह खैरेनीमा रहेको गरिमा बिकास बैङ्कमा कार्यरत एकजना कर्मचारीमा कोेरोना संक्रमण पुष्टि भएपछि बैङ्क सिल गरिएको छ ।  शाखा प्रमुख कबिता शर्माका अनुसार बैङ्कको लोन शाखामा कार्यरत कर्मचारीलाई पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । ५ दिनदेखि रुघा खोकी आएपछि बिदामा बसेकी उनले लुम्विनी प्रादेशिक अस्पतालमा आफै गएर कोरोना परीक्षण गराएकी थिइन । 

कर्मचारीमा कोरोना पुष्टि भएपछि बैङ्क सिल गरिएको देवदह नगरपालिकाका प्रमुख हिरा खत्रीले जानकारी दिनुभयो । बैङक्मा कार्यरत सम्पूर्ण कर्मचारीको पिसिआर टेष्ट गरिने भएको छ । लकडाउन अन्त्य भएको १३ दिन बितिसक्दा स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार २ हजार ७ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । तर लकडाउन अन्त्य हुनुपूर्व सोही अवधिको तथ्यांक अनुसार जम्मा १ हजार ५ सय ७१ जना संक्रमित थपिएका थिए। अर्थात् लकडाउन खुलेपछि झन्डै दोब्बर संख्याले कोरोना संक्रमित भेटिएका छन् । 

सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै विज्ञहरूले जोखिम बढ्ने र सतर्क नरहे स्थिति घातक हुनसक्ने चेतावनी दिएका थिए । पछिल्लो २४ घण्टामा उपत्यकाका ६२ सहित २५९ जना संक्रमित  थपिएका छन । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको छ । जसमध्ये हालसम्म १५ हजार २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

अहिले देशभरी जम्मा ५ हजार ९ सय २५ जना संक्रमित उपचाररत रहेका छन् । जसमा प्रदेश नम्बर १ मा ३ सय ३४, प्रदेश नम्बर २ मा २ हजार ४ सय २७, बागमती प्रदेशमा ७ सय १६ र गण्डकी प्रदेशमा २ सय ६३ जना संक्रमित उपचाररत रहेका छन । प्रदेश नम्बर ५ मा ३ सय ३५ कर्णाली प्रदेशमा २ सय ९५ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ५५ जना उपचाररत रहेको प्रवक्ता डा. जागेश्वर गौतमले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस