शुक्रबार, ३० साउन २०७७

भिरालो जमिन नजिक सतर्क हुन मौसमविद्को आग्रह , बुटवल–पाल्पा खण्डमा सडक भासिएपछि ठूला सवारीका साधन चलाउन रोक

रुपन्देही १८ साउन । बाढीको जोखिम कम भएपनि पहिरो भने जानसक्ने भएकाले भिरालो जमिन आसपासका बासिन्दालाई सतर्क हुन मौसमविद्ले आग्रह गरेका छन् । पानी पर्न कम भएपछि बाढीको जोखिम कम भएको हो तर निरन्तर पानी परेर जमिन गलेकाले सानो पानी परेपनि पहिरो भने जानसक्ने मौसमविद्ले बताएका हुन् ।

यसैबिच सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा सडक भासिएपछि ठूला सवारीका साधन आवागमन ठप्प भएको छ । लगातारको वर्षाले तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्सा र पानी मिलको बीचमा पर्ने राजमार्ग भासिएको हो । विहिबार सामान्य चिरा परेको पिच सडक शनिबार १ मिटर तल खस्किएपछि ठूला सवारीका साधन आवागमन ठप्प भएको छ ।

सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर शिव खत्रीका अनुसार करिब २० मिटर लामो सडकको आधा भाग भित्रि जमिन देखि नै भासिएको हो । ठूला गाडी नचलेपनि कार र मोटरसाइकिललाई ओहोर दोहोर गर्न दिइएको छ । भासिएको ठाउँमा जोखिम रहेकाले चारपाङग्रे हलुका सवारी बाहेक ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरि नायव उपरिक्षक डिल्लीनारायण पाण्डेले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस