शुक्रबार, ३० साउन २०७७

नेपालमा कोरोना संक्रमितमा लक्षण देखिन थाले , अध्ययन भन्छ : मोटा मान्छे जोखिममा

रुपन्देही ११ साउन । नेपालमा कोरोना सङ्क्रमितमा लक्षण देखिने क्रम बढेको छ । यस अघि सङ्क्रमितमध्ये ९८ प्रतिशतमा लक्षणै नदेखिएकोमा नयाँ सङ्क्रमितमा लक्षण देखिने क्रम बढेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कार्यकारी निर्देशक डाक्टर वासुदेव पाण्डेले जानकारी दिनुभयो । पछिल्लो समय काठमाडौँ उपत्यकामा देखिएका १६ जना मध्ये नौ जनामा लक्षण देखिएको छ । लक्षण देखिएका सङ्क्रमित भेटिन थाल्नुले चुनौती थपिएकोले सतर्कता अपनाउनुपर्ने डाक्टर पाण्डेले बताउनुभयो । 

अहिले अस्पतालमा भर्ना गरिएका सङ्क्रमितमध्ये एक तिहाइमा लक्षण देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले बताउनुभयो । कतिपय बिरामीलाई आइसीयूमै राख्नुपरेको छ । पछिल्लो समय देखिएका सङ्क्रमितमा रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, जीउ थाक्ने, स्वाद र गन्ध थाहा नपाउने जस्ता समस्या देखिन थालेका कार्यकारी निर्देशक पाण्डेले बताउनुभयो ।

यसैबिच कोरोना भाइरसबाट धेरै तौल भएका व्यक्तिको मृत्यु हुने सम्भावना स्वस्थ व्यक्ति भन्दा तीन गुणा धेरै हुने गरेको पाइएको छ । बेलायतको सरकारी एजेन्सी पब्लिक हेल्थ इंग्ल्याण्डको प्रतिवेदनमा यो कुराको खुलासा गरिएको छ । कोरोनाबाट संक्रमित भएका व्यक्ति सामान्य तौल भएका व्यक्तिलाई भन्दा भेन्टिलेटरको आवश्यकता पनि सात गुणा बढी हुने पाइएको छ । बडी मास इन्डेक्स २५ भन्दा धेरै भएमा व्यक्तिको तौल धेरै भएको सम्झनु पर्छ । यस्ता व्यक्तिलाई कोरोना लागेमा जुनसुकै समयमा भेन्टिलेटर आवश्यक पर्ने अनुसन्धानको निष्कर्ष छ ।

बडी मास इन्डेक्स ३० देखि ३५ धेरै हुने व्यक्तिमा मृत्युको खतरा ४० प्रतिशतले बढ्ने निष्कर्षमा वैज्ञानिकहरु पुगेका छन् । बडी मास इन्डेक्स २५ भन्दा धेरै हुने व्यक्ति कोरोनाबाट गम्भीर बिरामी पर्ने सम्भावना दुई गुणा धेरै र मृत्युको खतरा तीन गुणा बढ्छ । भेन्टिलेटर आवश्यक पर्ने सम्भावना सात गुणा धेरै हुन्छ । अनुसन्धानले तौल धेरै भएकै कारणले कोरोना संक्रमणमा भने कुनै फरक नपरेको देखिएको छ । तौल धेरै भएका व्यक्तिले आफ्नो तौल जति घटाउँदै लैजान्छन् उति नै कोरोनाबाट बच्ने सम्भावना बढ्दै जाने अनुसन्धानको निष्कर्ष छ ।

पब्लिक हेल्थ इंग्ल्याण्डको रिपोर्टमा धेरै तौल हुने व्यक्तिको रेस्पिरेटरी सिस्टम अर्थात स्वासप्रश्वास प्रणाली प्रभावित हुन्छ । यसले मानिसको इम्युन सिस्टममा पनि प्रभाव पार्छ । वैज्ञानिकहरुको सुझाव अनुसार बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाको दोस्रो लहर आउने आशंकामा मानिसलाई आफ्नो तौल घटाउन आग्रह गरेको पाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
 

प्रतिक्रिया दिनुहोस