मंगलबार, २० साउन २०७७

नेकपाका संस्थापक महासचिव पुष्पलाललाई स्मरण गरिदै

नेपाल कम्युनिस्ट पार्टी नेकपाका संस्थापक महासचिव पुष्पलालको ४१ औ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । विसं २००६ वैशाखमा चार जना साथी निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उहाले  पहिलो पटक भारतको कोलकातामा बसेर नेकपा स्थापना गर्नुभएको थियो । 

नेकपा खोल्नुभन्दा अगाडि विसं १९९८ मा उहाले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गर्नुभएको थियो । विसं १९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रुपमा जन्मिनुभएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि गर्नुभएको थियो । उहाँ सहिद गङ्गालालका भाइ हुनुहुन्छ ।

नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् । नेपाली काङ्ग्रेस लगायत प्रजातान्त्रिक शक्तिसंग मिलेर संयुक्त जनान्दोलन गरी पञ्चायती व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैँ लागिरहनु भएको थियो । नेपालमा साम्यवादी विचारको प्रचार गर्नका लागि पहिलो पटक कम्युनिस्ट पार्टीको घोषणापत्रको नेपालीमा अनुवाद गरेका पुष्पलालको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।

नेकपा बुटवलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४१औं स्मृति दिवसका अवसरमा बुटवलमा स्मृति कार्यक्रम सम्पन्न गरेको छ । पुष्पलाल स्मृति दिवसको अवसर पारेर बुटवलको सुख्खानगरमा रहेको पुष्पलाल स्मृति भवन अगाडीको शालिकमा नेकपाका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरीको प्रमुख आतिथ्यतामा माल्यार्पण गरी पुष्पलालको सम्झना गरियो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा रुपन्देही सहइन्चार्ज एकराज बिश्वकर्मा, केन्द्रीय सलाल्हकार नेत्र पन्थी, देवेन्द्र घिमिरे, जिल्ला कमिटी अध्यक्ष शिवराज सुवेदी, प्रदेश सचिवालय सदस्य गोमादेवी आचार्य, सावित्रा अर्याल, जिल्ला कमिटी सचिव नारायण जि.सी., प्रदेश कमिटी सदस्य तथा बुटवल उपमहानगर कमिटी इन्चार्ज नन्दिकेशर ढकाल, सहइन्चार्ज रिज्जु श्रेष्ठ लगायतका विभिन्न तहका नेताहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको संयन्वय बुटवल उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस