शुक्रबार, ३० साउन २०७७

नेपालमा ५३ प्रतिसत बिवाहित महिलाले परिवार नियोजनका साधन प्रयोग गर्दछन्

श्रीमान्–श्रीमतिले एक आपसमा सल्लाह गरेर इच्छा अनुसार कहिले र कति समयको अन्तरालमा कति बच्चा पाउने निर्णय गरेर परिवार नियोजनको साधन प्रयोग गर्नु परिवार नियोजन हो । 

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालका १५ देखि ४९ वर्षका ५३ प्रतिशत विवाहित महिलाहरुले परिवार नियोजनको साधन प्रयोग गर्ने गरेका छन् । परिवार नियोजनको साधन प्रयोग गर्नेमध्ये ४३ प्रतिशत महिलाहरु आधुनिक साधन तथा सेवा लिने गरेका छन् भने १० प्रतिशत महिलाहरु परम्परागत विधिको प्रयोग गर्दै आएका छन् ।

नेपालमा प्रयोग हुने परिवार नियोजनको साधन महिला बन्ध्याकरण, ३ महिने सुई, पुरुष बन्ध्याकरण, खाने चक्की, कण्डम, इम्प्लान्ट र आईयूसीडी हुन् । यी मध्ये सबैभन्दा धेरै प्रयोग महिला बन्ध्याकरण छ भने सबैभन्दा कम प्रयोग आईयूसीडीको प्रयोग रहेको छ ।

परिवार नियोजनको आधुनिक साधन प्रयोग गर्नेमध्ये १५ प्रतिशतले महिला बन्ध्याकरण, ९ प्रतिशतले ३ महिने सुई, ६ प्रतिशतले पुरुष बन्ध्याकरण, ५ प्रतिशतले खानेचक्की, ३ प्रतिशतले इम्प्लान्ट र १ प्रतिशतले आईयूसीडीको प्रयोग गर्ने गरेको स्वास्थ्य सर्वेक्षणको तथ्यांकमा उल्लेख छ ।


किन आवश्यक छ  परिवार नियोजन  

इच्छा नभएको गर्भ रोक्न चाहने, महिलाको उमेर कम्तीमा २० वर्ष नपुगुन्जेल पहिलो गर्भलाई रोक्न चाहने, एक बच्चा र अर्को बच्चाको बीचको जन्मान्तर बढाउन चाहने तथा सन्तानको रहर पुगेका दम्पतीका लागि परिवार नियोजनको साधान आवश्यक पर्छ ।

जन्मान्तरको लागि गरिने परिवार नियोजनले लोमो समयसम्म बच्चाले आमाको दुध खान पाउँछन् र बच्चालाई कुपोषण हुनबाट बचाउन सकिन्छ । सन्तानबीचको जन्मान्तरले बच्चाको स्याहार राम्रोसँग हुन पाउँछ । बच्चाको शारीरिक तथा वौद्धिक विकासमा सहयोग पुर्याउँछ ।

परिवार नियोजनले मातृ शिशु तथा बाल मृत्युदर घटाउन सहयोग पुग्छ । कम्तिमा २ वर्षको फरकमा बच्चा जन्माउँदा आमा र बच्चा निरोगी हुन्छन् । परिवार नियोजनले अनिच्छित गर्भ रहन दिँदैन । जसले गर्दा गर्भपतन गर्नुपर्ने अवस्था आउँदैन । व्यवस्थित परिवार बनाउन सहयोग पुर्याउछ । परिवारमा पोषणयुक्त खाना सबैलाई पुग्छ । परिवार नियोजनले धेरै सन्तान जन्मदैनन् । जसले गर्दा कम सन्तान भएमा उनीहरुको लालनपालन र शिक्षा दिन सहज हुन्छ ।
 

प्रतिक्रिया दिनुहोस