मंगलबार, २० साउन २०७७

बी पी भन्नुहुन्थ्यो : गरिबी बाँडेर समाजबाद आउदैन

आज ३८ औं बीपी स्मृति दिवस । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रजातान्त्रिक समाजवादी आन्दोलनका नेता, नेपाली काँग्रेसका संस्थापक, जननायक बीपी कोइरालाको स्वर्गारोहण भएको दिन साउन ६ गतेलाई नेपाली काँग्रेसले हरेक वर्ष बीपी स्मृति दिवसका रुपमा मनाउँदै आएको छ ।

राणाशासनविरुद्ध जुधेका पिताजी कृष्णप्रसाद कोइराला र दिव्यकुमारीका माइला छोरा बीपी राणा शासनको अन्त्य गर्ने सशस्त्र क्रान्तिदेखि २०३६ सालको जनमत सङ्ग्रहसम्म चर्चाको शिखरमै रहनुभयो । बीपी कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनको मूर्धन्य नेता हुनुहुन्थ्यो । कोइरालाले राणा शासनकाविरुद्ध नेपाली जनताको अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्ने कार्यको अगुवाइ गर्नुभएको र २००७ सालको क्रान्ति निर्माण गर्नका लागि महत्वपूर्ण र ऐतिहासिक भूमिका निर्वाह गर्नुभयो ।

डा सूर्यमणि अधिकारीद्वारा लिखित नेपाली कांग्रेसको इतिहासमा बीपी कोइरालाको नेतृत्वको सरकारले २०१६ सालमा बिर्ता प्रथा खारेज तथा राज्य रजौटा उन्मूलन गरेको थियो । राणाकालीन शोषणको सबैभन्दा बलियो जग बिर्ता प्रथा थियो । देशको कृषियोग्य भूमिको करिब ३६ प्रतिशत विर्तावालहरुको अधिनमा थियो । तराईमा बीरशम्शेर, चन्द्र शम्शेर, भीम शम्शेरको परिवारको नाममा मात्रै तीनलाख ६३ हजार ३६९ विगाहा जमिन विर्ताको रूपमा थियो । ठूला विर्तावालहरुले सरकारलाई कर नबुझाई मोहीबाट प्राप्त कुतले यश आरामको जिन्दगी चलाइरहेका थिए । 

विसं १९७१ भदौ २४ गते जन्मनुभएका बीपी कोइरालाको विसं २०३९ साउन ६ गते घाँटीको क्यान्सरका कारण निधन भएको थियो । वि।सं। २००७ सालको राणा शासनविरुद्धको क्रान्तिको नेतृत्व गर्नुभएका कोइराला २०१५ सालमा दुई तिहाइ बहुमतसहित नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनुभएको थियो । तत्कालीन राजा महेन्द्रबाट २०१७ साल पुस १ गते जननिर्वाचित सरकारलाई अपदस्त गरी बी।पी। कोइरालासहित अन्य नेताहरूलाई जेलमा राख्ने काम भयो । बीपी ले आठ वर्षसम्म जेलजीवन र थप आठ वर्ष निर्वासनमा जीवन बिताउनु भएको थियो ।

नेपाली राजनीतिका साथै साहित्यलेखनमा क्रियाशील रहनुभएका कोइरालाका तीनघुम्ती, सुम्निमा, नरेन्द्रदाइ, मोदिआइन, हिटलर र यहुदी तथा बाबु, आमा र छोरा उपन्यास प्रकाशित भएका छन् । दोषी चश्मा र श्वेतभैरवी कथा सङ्ग्रह तथा उहाँको देहान्तपछि आत्मवृत्तान्त, जेल जर्नल र फेरि सुन्दरीजलजस्ता कृति प्रकाशित भएका छन् ।

भारतीयको स्वतन्त्रता सङ्ग्राममा सहभागी हुँदा बीपी त्यहाँ पनि जेल पर्नुभएको थियो । भारतका पहिलो राष्ट्रपति राजेन्द्रप्रसाद, प्रधानमन्त्री जवाहरलाल नेहरु, समाजवादी नेताहरु जयप्रकाश नारायण, राममनोहर लोहियाजस्ता नेतासँग भारतीय नेताहरूसँग बी।पी।को निकट सम्बन्ध थियो । 

पञ्चायती व्यवस्थाविरुद्ध निरन्तर सङ्घर्ष गरेका कोइरालाले देशको राष्ट्रियता कमजोर भएको ठहर गरी २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर भारत प्रवासबाट स्वदेश फर्किनुभयो । उहाँलाई सिधै जेलमा राखिएको थियो । उहाँले भन्नुहुन्थ्यो जति छ त्यती बाँडेने होइन जति चाहिन्छ त्यती उत्पादन गर्नुपर्दछ । गरिबी बाँडेर समाजबाद आउदैन भन्नेमा बि पि प्रतिबद्ध हुनुुहुन्थ्यो । 
 

प्रतिक्रिया दिनुहोस