शुक्रबार, ३० साउन २०७७

प्रधानमन्त्रीलाई चिट्ठी !!!

सम्माननीय प्रधानमन्त्रीज्यू भर्खरै मात्र तपाईंको आफ्नो व्यक्तिगत जटिल स्वास्थ्य समस्यालाई मृगौला प्रत्यारोपण मार्फत मृत्युमाथी बिजय प्राप्त गर्नुभएको छ । यहाँको सुस्वास्थ्यको लागि शुभकामना टक्राउदछु । देश कोरोनाको कहरबाट आतंकित छ । तपाईंलाई यो चिट्ठी लेखिरहदा ३९ जना नेपालीले स्वदेशमै कोरोनाका कारण ज्यान गुमाईसकेका छन भने सत्र हजार बढी संक्रमित भैसकेका छन, दर्जनौं नेपालीले प्राकृतिक विपद बाढी पहिरोका कारण ज्यान गुमाएका छन, सयौं नेपाली चेलीहरु विशेषगरि घरेलु हिंसाका कारण ज्यान गुमाएका छन, लकडाउनको समयमा १५०० भन्दा बढिले आत्महत्या गरेका छन् ।

देश चैत्र ११ गतेदेखि बन्दाबन्दिको अवस्थामा छ । बिरामीले सहज उपचार पाउन सकेका छैनन् , बिद्यार्थीको पठनपाठन पूर्णत ठप्प छ । लकडाउनका कारण लाखौंले आफ्नो रोजीरोटी गुमाएका छन् , रोजगारी गुमाएका छन् । उद्योग, ब्यापार, ब्यवासाय धराशायी भएका छन् । सम्माननीय प्रधानमन्त्रीज्यू तपाईं त स्वास्थ्य लाभ लिईरहनु भएको छ । देश पूर्णरूपमा अस्वस्थ छ । आर्थिक सामाजिक गतिविधि ठप्प छ । अर्थतन्त्र थला परेको छ ।

ईतिहासकै यो कहालीलाग्दो कठिन परिस्थितिमा राज्यले आफ्ना नागरिकलाई बिश्वासमा लिन सक्नुपर्थ्यो, राज्य र जनताबिच सहकार्य हुनुपर्ने थियो तर सरकार आफ्नै डम्फू बजाउन ब्यस्त छ । जसका कारण अपराधीहरु समाजमा खुल्लम खुल्ला धाक जमाएका छन्, बिचौलीयाहरु हौसिएका छन् र भ्रष्टाचारीहरुमा कसले बढी भ्रस्टाचार गर्ने भन्ने प्रतिस्पर्धा बढेको छ । नागरिकहरु दुई छाक टार्नका लागि तड्पिएका छन् ।

देश कोरोनाको संक्रमणले मात्र होईन राजनीतिक संक्रमणले समेत गाजिएको छ । नेपालको बहुदलीय इतिहासकै झण्डै दुई तिहाईको भारी बहुमत सहितको शक्तिशाली सरकार भएका बेला सरकारको अदूरदर्शिता र अपरिपक्वताका कारण देश र जनता त्यति नै कमजोर भएका छन् । देश ठुलो दुर्घटनातर्फ उन्मुख देखिएको छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू देश्को प्रथम कार्यकारी तपाईं स्वयं भएका नाताले सम्भाबित दुर्घटनाबाट देश र जनतालाई जोगाउनु तपाईंकै पहिलो कर्तव्य हुन आउछ । तर तपाईंको दैनिक गतिविधि र बेलगाम बोली र उदाशिनताका कारण जनता मात्रै होइनन् तपाईं स्वयंको महान र गौरवशालि पार्टी समेत तपाईंसङ्ग असहमत छ । चर्को स्वरमा तपाईंको पार्टीका नेताबाट तपाईंको राजीनामा मागिएको छ । लोकतान्त्रिक परिपाटीमा राजीनामाको माग अप्रासंगिक त्यति बेला मात्र हुनसक्छ जब नेतृत्वले कठोर भएर आलोचना सुन्नसक्छ र निर्मम तवरले आत्म समिक्षा गर्दै आफुलाई सच्चाउन सक्छ । तर तपाईंको दैनिकी आफुसङ्ग असहमत राख्नेलाई धम्काउने र थर्काउनेमै सिमित रह्यो ।

सम्मानिनीय प्रधानमन्त्रीज्यू तपाईं स्वयंले भन्नुभएको थियो "म भ्रष्टाचारीको मुख पनि हेर्दिन " भनेर, त्यो सुनेर नेपाली जनताले खुशियाली मनाए तर वाइड बडि काण्ड, वालुवाटार ललिता निवाश जग्गा काण्ड, ७० करोडको काण्ड, कोरोना स्वास्थ सामाग्री खरिद घोटाला प्रकरण र तपाईंको आसपासमा बसेकाहरुले गरेको भ्रष्टाचारको ढाकछोप र बचाउमा तपाईं वकिलको भुमिकामा नउत्रिएको भए तपाईंको राजिनामा माग्ने ताकत कसैसँग हुने थिएन ।

यति देखि ओम्नि जस्ता ब्यापारिक समुहसङ्गको सम्झौता, सौदाबाजी र साठ्गाठ नगरेको भए, ३३ किलो सुनकाण्ड, निर्मला पन्त बलात्कार र हत्याकाण्डको सहि छानबिन र अनुसन्धान गरेको भए तपाईंको चौतर्फी वाहवाही हुने थियो । महामारीले थला परेका जनताको जिवनका बिषयमा चिन्ता लिनुपर्नेमा राष्ट्रपतिको विलाशिताको पक्षमा नउभिएको भए, सत्ताको मातमा लठ्ठीएर आफ्नै पार्टी भित्र पनि छलफलनै नगरी संबैधानिक आयोग र पार्टी बिभाजन सम्बन्धि अध्यादेश (हाल फिर्ता ) नल्याएको भए, अपहरण शैलीमा बिपक्षी दलका साम्सद्लाई रातारात नउठाएको भए, उखान टुक्का, उपहास र मानमर्दनमा भन्दा बढी काममा ध्यान दिएको भए , सार्बभौम सम्सदमा उठेका बिषयहरुलाई गम्भीरतापुर्वक कार्यान्वयन गरेको भए , निस्चित घेराबन्दी तोडेर जनताको चासो र चिन्तासङ्ग जोडिएको भए सायद प्रधानमन्त्रीज्यू तपाईंको राजीनामा माग्ने दुस्साहस तपाईंकै पार्टीबाट त के कसैबाट पनि हुन सक्दैन थियो।

सम्माननीय प्रधानमन्त्रीज्यू सार्बभौम सर्बोच्च संसदको बैठकमा माननीय गगन थापा लगायत संसद र सडकमा स्वस्फूर्त युवाहरूले कोरोना संक्रमणको नियन्त्रणका लागि पिसिआर बिधि मार्फत परिक्षणको ब्यवस्था गर्न गरिएको आग्रहलाई दुश्मनको नजरले प्रायोजित भिडको रूपमा नुबुझेको भए, सम्मानित संसदको अवमुल्यन गर्दै कोरोनाबाट बच्न वेसार पानी खाने सल्लाह नदिएको भए नत युवाहरुसङ्ग मुठ्भेड्को अवस्था आउने थियो नत तपाईंको समर्थनमा सडकमा जुलुस निकाल्नुनै पर्थ्यो ।

सम्पुर्ण देशवासी तपाईंकै पक्षमा हुने थिए । तपाईंले मन बाट चाहेर होस् या देश र जनताको दवावलाई थेग्न नसकेर होस् तपाईंको नेतृत्वमा कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितका नेपाली भुभाग समेटिएको नक्सा र निशान छाप संसोधन गरि जारी गर्दा जसरी देशले खुसियाली मनायो तपाईंलाई साच्चै नायक बनायो । तिनै नेपाली दाजुभाइ दिदिबहिनीहरुको स्वास्थ्यप्रति र बाच्न पाउने अधिकारप्रति तपाईं र तपाईंको सरकारको उदासीनता र गैर जिम्मेवारीका कारण खलनायकको रूपमा चित्रण गर्दैछन् ।

कोरोना संक्रमण परिक्षणको दायरा बढाउनु पर्नेमा घटाएर संक्रमणको दर घटेको भनी प्रचार गरेर देश र देशबासी प्रति गम्भीर घात गरेझैं नक्साको संसोधन मात्रैले मिचिएको भुमि फिर्ता हुन सक्दैन तसर्थ सार्थक कुटनैतिक पहलतर्फ ध्यान केन्द्रित गरियोस् । प्रचारमुखी खोक्रो राष्ट्रियता होईन आत्मसम्मान सहितको राष्ट्रिय स्वाधीनताका लागि काम गरियोस् अन्यथा राष्ट्रियताका नाममा हिटलरले आफ्नो जिवनी पुस्तकमा लेखे झैं "शक्ति र सत्तामा टिकिराख्न काल्पनिक दुश्मन देखाउ र देश खतरामा छ भन्ने हल्ला फिंजाउ । त्यसले जनताको मनमा डर उत्पन्न हुन्छ । जब जनता डराएका हुन्छन् उनिहरुलाई वशमा पार्न सजिलो हुन्छ ।" भन्ने भ्रमबाट मुक्त भएर साचो अर्थमा जनमुखी र जनपक्षीय काम गर्नुहोस् तपाईंको प्रधानमन्त्री पद कसैले खोस्ने आंट सम्म गर्न सक्दैनन् ।

नेपालको बहुदलीय लोकतान्त्रिक इतिहासमै यति शान्त, सहयोगी, भद्र र शालीन प्रतिपक्षी कहिल्यै थिएन/ हुनेपनि छैन र त्यो प्रतिपक्ष तपाईंको साथमा हुनेछ । तसर्थ यस अवसरलाई सहि ढङ्गबाट सदुपयोग गर्नुहोस् । यस कठिन र सङ्गिन कालखण्डमा तपाईंको सानो प्रयासले जनताको जिवन सुरक्षीत हुन सक्छ, थला परेको अर्थतन्त्रले केही हदसम्म कोल्टे फेर्न सक्छ, बन्द भएका उद्योग, कलकारखाना, ब्यापार, ब्यवसाय र सेवा क्षेत्रले अभिभावकत्व पाउन सक्छ । यसै सामुहिक प्रयत्नले मात्र कोरोनाको कहर र गम्भीर राजनीतिक संक्रमणबाट मात्र बिरामी देशले निकास पाउन सक्छ ।

जय नेपाल ।

उहि तपाईंको नेपाली जनता

प्रतिक्रिया दिनुहोस