शुक्रबार, ३० साउन २०७७

एकल यात्रीहरु ...

“हाम्रो समाजका लगभग आमाहरु सामाजीक दायित्वका एकल यात्रीहरु हुन् । एकल आमाहरु हुन् । किनकि बच्चा जन्मे देखी उनिहरुलाई हुर्काउने सबै दायित्व आमाहरु एक्लैले गरेका हुन्छन् ।एकाद त्यस्ता‌ बाबाहरु पनि नभएका होइनन् है जसले बाबा हुनुको दायित्व निर्वाह गरिरहेका हुन्छन्, बिना निर्देशन स्वत स्फुर्त । उनिहरु साँचो अर्थमा बाउ कहलिन्छन् । बच्चाको बिउ रोप्दैमा र खर्च उठाउदैमा मात्र बाउ बनिन्छ भन्ने सोच्नेहरु दयाका पात्र हुन् । बच्चा माथी को हरेक जिम्मेवारी बाउ र आमाको समान हुनु पर्छ ।

दिनभरि काम गरेर आएको बाउले पनि रोइरहेको बच्चा फकाउनु, मलमुत्र स्याहार्नु, खुवाउनु, डुलाउन आदि काममा आमाले जत्तिकै समान सहभागिता जनाउन जरुरी छ।

प्रायजसो पुरुषहरू सोच्छन् कि पैसा कमाउने काम गर्नु नै उनिहरुको परिवार माथीको सबै भन्दा ठुलो काम हो यति गरेपछि घरको अरु केहि काम उनिहरुले छुनु पर्दैन;बस् उप्परखुट्टि लाएरआफ्ना नितान्त व्यक्तिगत रहरका काम गर्न स्वतन्त्र छन् । यो नै पित्तृसत्तात्मक संस्कारको ठुलो बिडम्बना हो। उनिहरुले या भनौ यो सिङ्गो समाजले, महिलाहरुले दिन भर घर व्यवस्थापनमा खर्चेको समय र गरेका हरेक कामलाईअवमुल्यन गर्नु र नजरअन्दाज गर्नु नै सबैभन्दा ठूलो विभेद हो ।

थकाइ कस्लाई लाग्दैन ! दिनभरि पैसा कमाउने काम गरेको पुरुषलाई पनि लाग्छ । तर महिलाहरु जो बच्चा जन्मेपछि शारिरिकरुपलेएउट स्वस्थ पुरुष भन्दा कमजोर नैहुन्छन् । आजसम्म कति जना लोग्ने होलान् जसले आफ्नी पत्निलाई तिमी पनि थाक्यौ होला, साँझ बिहान को घरको काम हामी बाडेर गरौ भने होलान् ? कति जनाले भने होलान कि तिम्रो पनि व्याक्तिगत जीवन छ जति म स्वतन्त्र छु यसको उपयोग गर्न तेति नै तिमी पनि छ्यौ, म बच्चाको जिम्मेवारी बाड्छु, तिमी लाई घरधन्दा र बच्चाको दायित्व मा मात्र हराए जस्तो नलागोस् ? कति जना छन् होला जो स्फुर्तनै घरघन्दा र बालबच्चाको साना साना जिम्मेवारी आफ्नो पनि हो भनेर बोध गर्छन् होला ?? पक्कै पनि यो बाक्सा भित्र धेरै पर्ने छैनन् । किनकी यहाँ सबै जना संग एकएक वटा वाहाना हुन्छ, माथी भनेजसरी व्यवहार नगर्नुमा ।

रोइरहेको बच्चा फकाइदेउन भन्दा "मसंग दुध छैन कसरि फकाउनु, प्रकृति ले ठगेको जो छ" रे! महोदय बच्चा जहिले पनि आमाको दुधको लागी मात्र रुदैनन् बाउको काख र ममता पनि खोज्छन उनिहरु, ठगेको प्रकृतिले होइन, ठग र अल्छि मानसिकता ले हो । "यो जान्दिन त्यो जान्दिन, लाज लाग्छ" आदि ईत्यादि ! उफ् ! बिउ रोप्न जान्ने फल स्यार्न नजान्ने, नामको मात्र बाउ बन्ने, कस्तो लाज नलागेको !

एकल आमाहरुको कुरा गर्दै गर्दा मैले ति आमाहरुको कुरा गरेको छैन जो संग बिउको बाउ साथ छैनन् । ति आमाहरुको कुरा हो यो जसको साथमा बच्चाका बाउ त छन् तर कर्ममा साथ भने छैनन् । अझ ति आमाहरु जो आफैपनि आर्थिक रुपमा परिवारको लागी योगदान गरिरहेका हुन्छन्, ति झन् दोब्बर तेब्बर बोझ काँध बोकेर हिँडेका हुन्छन् । ति बहुत थाक्छन् र पनि थाक्न पाउदैनन । यिनिहरुलाई नथाक्न र जे पनि सहन कथित संस्कारले सिकाएको आदर्शले खबरदार गरेको छ । त्यसैले उनिहरु डराउँछन् बोल्न र नसहन ।

यी आमाहरुलाइ मेरो एउटा सुझाव के छ भने नि हाम्रा समाजमा दुइचार पैसा कमाउन र आफ्ना साना आवस्यकता पुरा गर्न काम खोज्नेहरु पनि छन्, तिमीहरु आफ्नो कमाइको अंशले उनिहरु बाट आफ्नो लागी अलिअलि सुविधा किन । त्यसपछि काम बाट थाकेर घर पुगेपछी तिमीहरुले बुहार्तन गर्न नपरोस। यसो गर्दा सेवा लिने र दिने दुवैलाई फाइदा हुन्छ । यदि तिम्रो लागी तिमी साथ हुनेले सोच्दैनन् भने तिमीले आफ्नो लागी आफै सोच्नु पर्छ । माया गर्नु पर्छ आफैंलाई । बाउहरुलाई तिम्रा सन्तानले बोलाउने साइनोको लागी मात्र बाउ नबन महोदयहरु सन्तान प्रतिको हरेक सान र ठुला जिम्मेवारी प्रति दायित्व बोध गरी स्फुर्त रुपमा सहकार्यका लागीअगाडि बड ।"

उ रिसाएको छ म संग, बिहान अलि ठासठुस परेको थियो। मेरो डायरी खुलै रैछ पढेछ मैले लेखेको कुरा ।तर कस्तो !! खास रिसाउनु पर्ने त म हो । मैले के गलत बोले, लेखे र ??? जे हुनुपर्ने हो त्यहि लेखेको हो । यति मात्रै होइन बोल्नु पर्ने र लेख्नुपर्ने कुरा अझ धेरैछन् । यो व्यवस्था भित्र विभेदित व्यवहारहरु यति धेरै छन्, कुन् कुन् को चर्चा गर्नु ।

उसका घरमा मैले पकाउने खुवाउने सबैले खाएका भाँडा माज्ने, मानौ कि ठेक्का नै छ, नि:शुल्क । उसका बा आमा जुठो थाल माथी चुठेर हिँड्छन्,मेरो सम्मानमा ! !यो हेपाइ मैले सहनुपर्छ, जिम्मेवारी को नाउँमा ! तर उसले मेरो घरमा आफुले खाएको जुँठो भाडो मेरी बुढी आमालाई माज्नको लागी छोड्छ । कति तिरस्कार गर्न सकेको । कति अपमान्, छोरी पाउने आमा र छोरीहरु लाईकेटामान्छेहरुको संस्कारले दिन सक्ने यहि हो, मौन अपमान । आफ्नाआमा, दिदि, बहिनि, श्रीमति,सासु, साली निरन्तर काममा खटिरहदा यीनिहरु चाकमा ठेला परुन्जेल बसेर, आँखाका गेडि नझरुन्जेल मोबाइल र टिभी हेरेर, चोकमा भुडि मसार्दै राजनिति र आदर्शका ठुलाठुला गफ जोतेर, थाक्दैनन् । यीनै हुन हाम्रो समाजमा आदर्श पुरुष !

आफ्ना आफ्ना लोग्नेको यस्तो हिंसामा हामी धेरै कम बोल्छौ । बरु एक पित्को सिन्दुरको गाडा रङ् भित्र दुखेको मन ढाकछोप गर्छौ । तिरस्कार लाई संस्कार मान्छौ र थन्काउछौ पिडा, खातै खात पारेर ।

मलाई हाम्रो सामाजीक संरचना भित्र रहेका यस्ता असमान व्यवहारले सधै आन्दोलीत गर्छ । “छोरी मान्छे बिहे गरेर अर्काको घरमा जानुपर्ने, लोग्नेको थर लाइ आफ्नो थर मान्नुपर्ने, उसका घरमा बुहार्तन गर्नु पर्ने, उसको नाममा श्रृङ्गार गर्नु पर्ने, सधै बाउ, दाइ, भाइ, लोग्ने, ससुराले बनाएका नियमलाई शिरोधर गर्नु पर्ने, संस्कारी बन्नु पर्ने, शुसिल बन्नु पर्ने, चित्त नबुझ्दा पनि चुप लाग्नु पर्ने यो वास्तवमा एउटा अव्यवस्थित व्यवस्था हो जसको फाइदा पुरुषहरले एकोहोरो उठाउँदै आएका छन् । उनिहरु कमाण्डर बनेका छन् र हामी कमारा !

जति सुकै शैक्षिक योग्यता हासिल गरेता पनि लोग्नेको घरमा आफ्नो इज्जत र सम्मान कुनै बुहारीले पाउन सकेका छैनन् । तर सबै बोलेका पनि छैनन् । मलाई त कस्तो लाग्छ भने पित्तृसत्ताको सबभन्दा पिडित पात्र नै बुहारी हो । जसको हैसियत घरका सवै सदस्यको भन्दा तल्लो स्तरको हुन्छ । आफु भन्दा कम उमेरका देवर र नन्द भन्दा पनि । अनि माईति, छोरी अन्माएर उम्किएको चरित्र हो, जसको ईज्जत हर हालमा छोरीले जोगाउनु पर्ने हुन्छ, तिनका ज्वाईको घरमा र समाजमा । लाग्छ कि यो समाजको सम्पुर्ण ईज्जत धान्ने जिम्मा छोरी र बुहारी पात्रको हुन्छ ।आखिर किन? के यो सिन्दुर, पोते, टिका, चुरा लाउन पाउनुनैछोरी मान्छे हुनुको सौभाग्य हो त ?? के यो सौभाग्यमा आउन सक्ने सम्भावित आँच को कल्पना गरेर छोरी मान्छे चुप बस्नु पर्ने हो त?? मलाई हो जस्तो लाग्न छोडेको छ, आजभोली....।

जीवनको आधा उमेर यहि संस्कारमा यो गर्न हुन्छ र यो गर्न हुन्नको लेखाजोखा र तेसै माथी सचेतहुँदै बित्यो । आफ्ना जीन्दगी सोचे जस्तो बनाउन सकिएन र कतिपय हामीहरुले त आफ्नो जिन्दगी को बारेमा सोच्न पनि सकेनौ । आफ्नो जीवनमा आफ्नै मात्र अधिकार हुन्छ भन्ने पनि जानेनौ । बस्,पित्तृसत्ताले आमाहरुलाई र जुन कुरा बोल्न लगायो, आमाहरु हामीहरुलाई त्यै सिकाए र हामीले पनि त्यहि सिक्नुमा सहजता देख्यौ ।

हुन पनि त घरघन्दा राम्रो तरिकाले दोर्न सिक्नु, शिलस्वाभाबकी हुनु, चर्को नबोल्नु, मुखमुखै नलाग्नु, सफा र राम्री भएर बस्नु यस्तै कुरा त होनि हाम्ले सिकेको । जुन अति नै राम्रा र सकारात्मक छन् । तर ....! तर यो सब आफ्नो लागी गर्नु भनेर कहिल्यै सिकाइएन ।बा, दाजुभाइ, सासु ससुरा,लोग्ने प्रति आदार व्यक्त गर्नका लागी मात्र यो सब गर्नु पर्छ भन्ने सिकाइयो । यस्तो स्कुलिङ् र सामाजिकीकरण ले हुर्किएका हामी,हामी त आफ्नो अस्तित्व नै बुझ्न सकेनौ । कति अन्याय ! हाम्रो समयसम्म आईपुग्दा पनि छोरा र छोरी लाई फरक फरक तरिकाको जीवन शैलि शिकाइयो । त्यसैको परिणाम त हो, छोरीहरु ससुरालमा नोकर जस्तो घर धन्दा गर्नु पर्छ र छोराहरु ससुरालमा देउता सरह पुजिन्छन् ।

कहिले काँहि लाग्छ कि, “हामीले त छोरा छोरी हुर्काउँदा केहि फरक गरेका छैनौ” भन्ने बा आमा संग जंगिन मन लाग्छ, भन्न मन लाग्छ कि “हुर्काउदा त फरक गर्नुभएन होला तर बिहे पछि आईपर्ने अति नै फरक परम्परागत संस्कार संग कसरी डिल गर्ने भन्ने सिकाउन बिर्सिनु भयो । तपाईले छोरा भन्द केहि फरक नपारेर हुर्काएकि छोरीको उसको लोग्नेको घरकाले हुर्मत काड्न सक्छन्, यदि तेसो गरेमा त्यसको विरोध गर्न सक्नु हामी तिम्रो साथमा हुनेछौ भनेर भन्न बिर्सनु भयो । किनकि तपाईहरु पनि त्यहि विभेदित समाजको हिस्सा हो । सबै देख्ने तर अन्धो र मौन ।”

अरुले आफुलाई माया गरुन भनेर तयार गर्दै गर्दा आफुले आफैलाई कहिले माया गरिएन। खालि दोस्रो पात्रको माया र उपस्थितिले मात्र आफु पुर्ण भइन्छ कि जस्तो लाग्यो । जुन गतल बुझाइ हो र सिकाइ हो ‌। हामी आफैमा पुर्ण छौ । आफैले आफैलाई मात्र माया गरेर संसार जित्न सक्छौ । दोस्रो पात्र र सहयात्री हुन सक्छ तर आफु भन्दा सर्वोच्च हुन सक्दैन। सहयात्री हुन भन्ने ले सहयात्राका शुत्र पुर्ण आत्मसात गर्नुपर्छ र मात्र सम्बन्ध सौहार्द हुन्छ । नत्र सम्बन्धहरु कहिले कसैकोदेखिने गरि र कसैको नदेखिने गरि तितरवितर भएको हुन्छ । "

म यस्तै यस्तै कुरा गर्छु । कहिले महिला माथी समाजले गरको हिंसा र विभेदको त कहिले छोरीमान्छेहरुले जन्मदा देखी भोग्नुपरेको असमान व्यवहारको कुरा । उसलाई थाहा छ यी मेरा मन पर्ने विषय हुन् । सधै यस्तै यस्तै मनका भावनाहरु लेखेर मन हल्का पार्ने वानि परेको छ मलाई । यसपाली आफ्नै कुरा लेखे...। के नै गल्ति गरेर । बोल्न सक्नेले उत्तर स्वरुप एक शब्द पनि नफर्काएपछि यो निर्जिव पानाहरुमा दुःख पोखे ।

.... आखिर के नै चाहेको हो र मैले पनि त्यै सहयात्रा प्रतिको अपेक्षा त हो । जुन स्वाभाविक छन् । आफ्नो बच्चाले कति बेला के खानुपर्ने हो, कति बेला नुहाउन पर्ने हो, बच्चाहरु किन रोइरहेका छन्, उनिहरुका हरेक आवश्यकतालाई बाउले पनि बुझोस र स्फुर्त सहभागी होस आफ्नो दायित्व पुरा गरोस भन्ने चाहन्छु म । तर उ नजरअन्दाज गर्छ र सहयात्राको नाउँमा म एक्लिन्छु । एक्लिन परेको यति एउटा कुरा मा मात्र कहाँ होर ! मलाई लाग्छ जीवनका प्रत्येक मोडहरुमा महिलाहरु पुरुषका सहयात्री बन्छन् तर महिलाहरु परम्परा र संस्कारका नाममा संधै एक्लिन्छन् । बुहार्तनमा एक्लिन्छन्, मात्तृत्वमाएक्लिन्छन् र उनिहरुका व्याक्तिगत रहरहरु पुरा गर्ने चाहानामा एक्लिन्छन्....प्राय ।कहिले काहिँ लाग्छ कि संगै हिँड्दा पनि एक्लिनु छ भने यो बरु कि यो यात्रा लाई एकल यात्रा बनाऊँ ! कमसेकम कसैमाथी अपेक्षा राखेर अपेक्षैपिच्छे मन मार्नु भन्दा त कुनै अपेक्षाको पात्र नै नराख्नु बेश हो कि भन्ने लाग्छ !  

तर विवाह वन्धनमा बाँधिएपछि यस्ता उपाएहरुले झन तनाव दिन्छन जस्तो लाग्छ । विवाह एउटा यस्तो वैधानिक संरचना हो जसले मानव समाजलाई सभ्य बनाएको छ । यौनलाई नियन्त्रण गरेको छ र सन्तान उत्पादनलाई व्यवस्थित;.....खास मा यस्तो हुनुपर्ने हो । तर यो व्यवस्था सम्पुर्ण रुपमा पुरुष प्रधान छ । यो पवित्र भनिएको संरचना भित्र सबै को अस्तित्व समान हुनु पर्ने हो .... नहुनु विडम्वना हो । अब के गर्ने त .... बोल्ने, कराउने ? सहने, सम्झौता गर्ने ? या अस्तित्वको लडाई ??? कि बुझिदिने सहयात्रीहरुले ??

प्रतिक्रिया दिनुहोस