बुधबार, १० कार्तिक २०७८

" माफ गर्नु है मेरी आमा मैले तपाईको मुख हेर्न भुलेछु "

मलाई न औषी को सम्झना छ न त पुर्णिमाकोनै मलाई त कुन महिनाको कति गते भन्ने कुरा पनि याद छैन । मलाई केबल विश्वमा कोरोनाको स्थिति , दैनिक अवस्थाको बारेमा मात्र याद छ । हरेक दिन क्वारेन्टीन,आईसोलेसन अस्पताल धाउँदा मलाई मेरो प्यारो जन्मभुमीको यादनै भएन अनि  दैनिक पिडामा परेका ब्यक्तिहरुको अनुहार हेर्दा मलाई मेरी आमाको मुख हेर्ने कुरामा ध्यानै गएन । 

हुनत सम्झन नखोजेको कँहा हो र जब म तपाईको अनुहार सम्झन खोज्छु,  सिन्धुली तिरबाट पैदल हिड्दै रौतहट जान कस्सिएका, पानी र अन्नको अनुहार नदेखेका एक हुल रुन्चे अनुहार झल्ककै आँखा अगाडी आउछ । जब मैले मेरो आमाको अनुहार सम्झन कोसिस गर्छु फेरी त्यो एक हुल मान्छेले वितरण गरेको एक किलो चामल आधा पोका नुन अनि पोका च्यातेर ३-४ जनामा बाट्नु पर्नै सोयबिनको तेलको झझल्को आउछ । 
बिदेशबाट घर आउन आतुर भएर आफ्नो देश आएका परिवारका सदस्यहरु संग भेट्न आतुर ब्यक्तिहरु २०-२२ दिन क्वारेन्टीनमा बस्दाको त्यो मलिन अनुहार याद आउछ।

नेपाल - भारत सिमाना पारीनै अल्झिएका सुत्केरी तथा गर्भवती महिलाहरु , कोरोनाको संकाले गर्दा छिमेकीले छुनै नचाहने बिरामीहरु, सहर बजारका सडकहरुमा अलपत्रै अचेत अवस्थामा रहेका बृद्ध बृद्धाहरु,अस्पतालको आईसोलेसनमा आफ्न्तहरु भेट्न आउने आशारत अनुहारहरु तथा गाउँमा आमा बिरामी परेर घर जान पास बनाउन चर्को घाममा लाईन लागेका ब्यक्तिहरु को झल्को अनुहार अगाडी घुमीरहन्छ । अस्पतालमा दिनरात जोखिम मोलेर सेवा गरिरहने स्वास्थ्यकर्मी को आशाबादी तथा भरोसारहित अनुहार याद आउछ । 

पुर्व्तिर एम्बुलेन्सको चालक भएकै कारणअनि पश्चिम तिर स्वास्थ्यकर्मी भएकै कारण घरभेटिले घर भित्र छिर्न नदिएको कुरा झल्यास्स आउछ। एकदमै कोशिस गरेर मेरी आमाको अनुहार सम्झन खोज्छु झल्यास्स त्यो महाकाली नदिमा पौडी खेलेर आफ्नो मातृभुमी आएका ब्यक्तिको अनुहार याद आउछ। बिदेशमा काम गर्नबाट बन्चित अनि चाहेर पनि आफ्नो देश आउन नसक्ने कयौ नेपाली नागरिकहरुको अनुहार झझल्को आउछ।

राती ढल्कने बेला यसो फेसबुक हेर्न भ्याउदा  कसैले चिटक्क साडी लगाएको आमाको फोटो कसैले बिहेमा दुलहि अन्माउन लाग्दाको जस्तो आमाको फोटो कसैले आमाको बारेमा धारा प्रवाह कबिता कसैले टिकटक त कसैले बिभिन्न किसीमको डिजाइन गरि आमाको फोटो हालेको देखे अनि कता कता ढिलै भएपनि मलाई आमाको फोटो फेसबुकमा पोष्ट गर्न मन लाग्यो ।  मैले पुराना एल्बम पल्टाउन थाले । 

कुनै फोटो धमिराले खाएको कुनै पानी करेर मेटिएको एक दुई वटा फोटोमा अनुहारमै ढुसी पलायको भेटियो। त्यसपछि मैले मेरो मोवाईलमा आमाको फोटो खोज्न थाले। दशैमा हामीलाई टिका लगाइदिदाको फोटो भेटियो ।  तर त्यसमा आमाको राम्रो ढाकाको चोलोमात्र देखिएको रहेछ।मेरो टाउकोले ठ्याक्कै आमाको अनुहार छेकिएछ। तिहारमा सेलरोटी पकाउदाको एउटा फोटो अलि राम्रो देखेर राखौ जस्तो लाग्यो तर यसो हरेको त्यो सेलरोटी पकाउने कराई त कति कालो अनि आमाले लगाएको धोती पनि भुल्लो । होस यो फोटो हाल्यो भने त जिस्काउछन। त्यस बाहेक अरु खासै फोटो देखिन। तिजको फोटो राम्रो हुन सक्छ भनेर यसो मोवाईलमा खोर्ज तर पछि आफै सम्झे तिजमा म घर गएकै थिएन आमो त्यो तिन पल्ट ठोकेर हेलो भन्नुपर्नै मोवाईलमा कसरी फोटो आवोस। 

यति बिचार गर्दा अझ कति धेरै जना आमाहरुको फोटो फेसबुकमा थपिएछन। मलाई साह्रै रहर लाग्यो र आमालाइ फोन गरि एउटा फोटो पठाईदिन भने आमाले सोझो हिसाबमा हुलाक बन्द रहेको अनि गाडी पनि नचलेको हुनाले कसरी पठाउने भन्ने जिज्ञाशा राख्नुभयो मैले पल्तिर भाइलाई दिनु उसले पठाउछ भने,एकै छिनमा मोबाईलमा मेसेजको घण्टी बज्यो, फोटो संगै मैले पनि भावनाहरु कतैबाट कपि गरेर पोष्ट गर्नै सोच बनाउदै फोटो खोलेर हेरे।

कति राम्री मेरो आमा मैले यति राम्री आज सम्म कैले देखेको थिएन। चिटिक्क साडी लगाएकी त्यो कलकत्ताबाट बा ले ल्याईदिनुभाको बुट्टै बुट्टे साडी मेरो आखै अगाडी आईरहन्छ जुन साडि आमाले तिजमा लगाएपछि  मेरी दिदीहरु १०-१२ बर्षका हुदा दुबैले जामा सिलाएर लगाएका थिए अनि कति रमाएका थिए। अलिकति टुक्रा बचेर होला ६-७ बर्षको म केटोलाई पाटे कट्टु पनि सिलाईदिएको यादछ ।

अनि मेरा आँखा एक्कासी त्यो फोटोको कानमा रहेका सुपो जत्रा ढुङ्ग्ररीमा परे, ति ढुङ्ग्ररी त अंसबण्डा गर्ने बेलामा रु २०० मोल गरि खै कसलाई पो पर्यो रे। मेरी आमाले रु २०० तिरेर आफै राख्ने इच्छा जनाउदा गाउले ठुलाबडाले तिम्रो माईत यहि तल २ मिनटमै पुगिन्छ कँहा जादा लगाउछौ भनेर हप्काएकोकुरा अनि दाई दिदीको किताब कापी किन्नका लागि रु ३० मा बेचेको नाकै च्यातिएला जस्तो गरि झुण्डिएको बुलाकी आमाले अस्तिनै भनेको झल्यास्स सम्झे। यति राम्रो फोटो फेसबुकमा पोष्ट गर्ने बिचार गरपछि को को लाई ट्याग गर्ने भनेर सोच्दै थिए फेरि मनमा एउटा कुरा खेल्यो।

१५- १६ बर्षको उमेरको आमाको फोटो हाल आएर फेसबुकमा राख्दा मान्छे ले के भन्लान ? अझ नागरिकता बलाउनका लागि खिचेको त्यो अटो साईजको फोटो, होस धेरै खालका प्रतिकृया आउने डरले अन्त्यमा मैले फोटो पोष्ट नगर्ने निधो गरे। रात ढल्कदै थियो हल्का निद्राले च्याप्दै थियो मनमा कुरा खेलिरहे, मैले आफैमा प्रश्न गरे के मेरी आमाको फोटो फेसबुकमा नराखेर मैले कुनै गल्ति त गरिन ? फेरी आफैभित्र  उत्तर पाँएमैले राखेको फोटो मेरी आमाले हेर्न त्यस्तो खाले मोबाईल पनि छैन अनि उँहाको फेसबुक पनि छैन,अरुलाई किन देखाउनु ?

मलाई मुख हेर्नमा खासै ईच्छा छैन आमा, मलाई त त्यो छर्तिको खेत रोप्दा मकैको ठुटीले घोचेका हातहरु, तल खर्बारी बाट दोपहरमा खाली खुट्टा घास ल्याउदा तातो ढुङ्गाले पोलेर फुटेका खुट्टाहरु, जुकेखोलाबाट पानी बोक्दा नाम्लोको थाप्लो गढेको टाउको एले कस्तो भयो ? त्यो हेर्ने ईच्छा छ।
आमाको मुख हेर्दैमा, झिलिमिली फोटो फेसबुकमा हाल्दैमा कोहि आमा खुसी हुदैदन, आमा त आफ्ना सन्तानले गरेको उन्नति, प्रगति तथा आमा बा लाई गर्ने सकारात्मक ब्यबहार बाट खुसी हुन्छन।  "आमाको मुख हेर्ने होईन , आमाको अगाडी मुख देखाउन लायक बनौ।“

 

प्रतिक्रिया दिनुहोस