यती बेला म आफ्ना सम्झनाका खाताहरु पल्टाइरहेको छु ।
सम्झनाको एउटा पाना शुरु देखि अन्त्य सम्म रिल जस्तै भएर दिमाग देखी मन सम्म लडीबुडी गरी रह्यो ।
जहाँ :
कसले सोच्दैन होला, जीवन फुल होस् सुगन्धित होस् भनेर
हरेक क्षण र हरेक पलमा पनि जित होस् भनेर ।
ओहो तिम्ले त मलाई दुःखमा पनि हाँस्न सिकायौ
पल पल मरेर पनि बाँच्न सिकायौ
प्रेमले हेर्दा पत्झड पनि फुल लाग्ने रैछ
काँडै काँडा पञ्छाएर पनि नाच्न सिकायौ
त्यसैले त अहिले म खुल्ला आकाश भएकी छु ।
केही बिशेष अनी केही खास भएकी छु ।
म त बुढो भैसकें सायद तिमी पनि बुढो भयौ होला
तर यी याद र सम्झनाहरु आज पनि उस्तै छन, नितान्त उस्तै छन ।
न यिनीहरुको इन्ट्री गेट छ् न त एक्सपायर डेट नै छ ,
सधैं फ्रेश देखिने यिनीहरु मलाई त अजिब लाग्छ, ताजुब लाग्छ ।
यिनीहरु कुनै फिल्मको सिन भन्दा कम लाग्दैन मलाई
कहिले भित्र भित्र काउकुती लगाउने त कहिले भक्कानो फुटाएर रुवाउने
साच्चै यिनीहरु मलाई त अजिब लाग्छ ताजुब लाग्छ ।
मानिसहरु साथ् दिन्छु भन्छन अनी बिच मै छुटी जान्छन्
तर यादहरु थाहै नपाई आउँछन र जीवनभर साथ दिन्छन्
असल बिश्वासिलो र भरपर्दो साथी त याद नै रहेछ क्यार !
एक्लै हुनै नहुने , साथ दिन टुप्लुक्क आइहाल्नी
मलाई त यिनीहरु अजिब लाग्छ, ताजुब लाग्छ ।
भेटिएर अनी छुट्टिएको पनि बषौं बित्यो तर
भर्खर भेटे झै लाग्ने यि यादहरु आँखामा लडीबुडी गरी रहेका छन
र , आँखालाई भर्खर धोएर सुकाएका कपडा जस्तै तप्प तप्प पारेका छन
मलाई त यिनीहरु अजिब लाग्छ, ताजुब लाग्छ अन्तत साथी लाग्छ ।
अ साच्ची ! तिमी सँगका पलहरु पनि सुरक्षित साथ सञ्चित भएको रैछनि
म ब्यस्त भएपछी मैले त्यसलाई प्यासिभ गराएको थिए
लकडाउनले एक्टिभ गराइदिएको छ र त सम्झिरहेको छु,
तिम्रो खातामा एक्टिभ छ कि प्यासिभ जवाफ देउ ल !
शोभा कोईराला
प्रतिक्रिया दिनुहोस